सार्वजनिक सेवा प्रवाह हुने १९ स्थानमा निःशुल्क वाइफाई इन्टरनेट
काठमाडौं
कार्तिक २० गते,
काठमाडौंको सार्वजनिक सेवा प्रवाह हुने १९ स्थानमा निःशुल्क वाइफाई इन्टरनेट सेवा विस्तार भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्रपरिसर, विमानस्थलका साथै संवेदनशील, महत्त्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाई इन्टरनेट सेवा विस्तार भएको हो ।
मन्त्रालयका अनुसार यसअघि नै वाइफाई इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमता विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ जडान गरिएको हो । मन्त्रालयका अनुसार काठमाडौंंको नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ स्थापना र क्षमता विस्तारसहित सञ्चालनमा वाइफाई सेवा उपलब्ध हुनेछ ।
साथै काठमाडौंको ठुलोभर्याङ यातायात व्यवस्था कार्यालय र ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा स्थापना र क्षमता अभिवृद्धिको काम भइरहेको छ । भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा नयाँ स्थापनाको क्रममा रहेको मन्त्रालयको भनाइ छ। निःशुल्क वाइफाईको निरन्तरता र दिगोपनाका लागि सम्बन्धित संस्थाले सेवाप्रदायक कम्पनीसँग सम्झौता गरिसकेको छ । नेपाल टेलिकम, वर्ल्डलिंक र भायनेट कम्पनीले निःशुल्क वाइफाई इन्टरनेट स्थापनाका लागि सहकार्य गरेका छन् ।
सञ्चारमन्त्री खरेलको विशेष सक्रियतामा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायक कम्पनीसँगको समन्वयमा निःशुल्क वाइफाई इन्टरनेटको पहुँच विस्तार गरेको हो । प्राधिकरणका अनुसार यसअघि वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, सहिद धर्मभक्त माथेमा राष्ट्रिय उपचार केन्द्र र पशुपति मन्दिरपरिसरमा १० एमबिपिएस ब्यान्डविथलाई बढाएर १५० एमबिपिएस बनाइएको छ । ती क्षेत्रमा प्रत्येक डिभाइसका लागि १०० एमबीबाट बढाएर ५०० एमबी बनाइएको छ ।
त्यसैगरी नेपाल टेलिकमले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित ३५ विमानस्थलमा निःशुल्क वाइफाई विस्तार गर्ने कार्ययोजना बनाएको छ । भक्तपुर क्यान्सर अस्पतालमा ६ वटा एक्सेस प्वाइन्ट र कीर्तिपुर अस्पतालमा पाँचवटा एक्सेस प्वाइन्टसहित नयाँ वाइफाई सेवा उपलब्ध गराइएको छ ।
