हिमपातले अन्नपूर्ण आधार शिविर क्षेत्र जान रोक, सुरक्षाकर्मीको टोली परिचालन
अन्नपूर्ण गाउँपालिका
कार्तिक १२ गते,
अन्नपूर्ण गाउँपालिका– ४, नारच्याङमा अवस्थित अन्नपूर्ण आधार शिविर क्षेत्रमा मौसममा आएको खराबी र हिमपातको कारण भ्रमणमा जान रोक लगाइएको छ । गएरातिदेखि भारी मात्रामा हिमपात भइरहेकाले यस क्षेत्रमा गएका पर्यटकहरूको सहजीकरणका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।
पछिल्लो समय अत्यधिक मात्रामा पर्यटकहरूको आगमन भइरहेको र सञ्चारको पहुँच नभएकाले पर्यटकहरू बिरामी र अलपत्र पर्ने जोखिम भएकाले अन्नपूर्ण गाउँपालिकासँगको समन्वयमा पर्यटकहरूको सहजीकरणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिए ।
हिमाली उद्धारकर्मीको रूपमा परिचित इन्द्रसिंह शेरचनसमेत सहभागी उक्त टोली नारच्याङ भएर हुमखोला हुँदै आधार शिविर क्षेत्रमा प्रस्थान गरेको छ । अन्नपूर्ण आधार शिविर क्षेत्रमा सञ्चारको पहुँच नभएको कारण पर्यटकहरू भारी हिमपातका कारण समस्यामा पर्न सक्ने जोखिमलाई ध्यानमा राखेर आवश्यक सतर्कता अपनाइएको छ ।
जल तथा मौसम विज्ञान विभागद्वारा जारी मौसम बुलेटिनअनुसार आगामी शुक्रबारसम्म हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहेकाले उक्त अवधिमा अन्नपूर्ण आधार शिविर जान पूर्ण रूपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अन्नपूर्ण गाउँपालिकाले समेत सूचना जारी गरेर मौसम खराबीको कारण हिमपात भएका अन्नपूर्ण आधार शिविर, खोप्रालेक, मोहरेडाँडा, पुनहिललगायतका हिमाली क्षेत्रको भ्रमणमा निस्किएका पर्यटकहरूलाई सुरक्षित भएर बस्न र सतर्कता अपनाउन आग्रह गरेको छ । अहिले पर्यटकीय क्षेत्रबाट फर्किरहेका पर्यटकहरूबाट सूचना लिइरहेको र कोही पर्यटक पनि अलपत्र र अप्ठ्यारो अवस्थामा रहेको जानकारी नआएको जनाइएको छ ।
