एनपीएलमा एनसेल ‘पावर्ड बाई’ साझेदारको रूपमा आबद्ध

काठमाडौँ आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को व्यग्रताका साथ प्रतीक्षा हुँदै गर्दा, एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बिच साझेदारीको घोषणा भएको छ ।

 प्रायोजन सम्बन्धी यस साझेदारीअन्तर्गत एनसेलले नेपाली क्रिकेट प्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाहरूको विकासमा योगदान पुऱ्याउने विश्वास लिईएको छ । 
व्यावसायिक फ्रेन्चाइजमा आधारित यो टी–२० प्रतियोगिता एनपीएलमा एनसेल ‘पावर्ड बाई’ साझेदारको रूपमा आबद्ध भएको छ । यसका लागि गत हप्ता एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र क्यानका सचिव पारस खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । 

यो सहकार्य एनसेलको ‘हामी तपाईँकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको छ । क्रिकेट भारतीय उपमहाद्वीपकै सबैभन्दा बढी लोकप्रिय खेलकुद मध्ये एक हो । यो एनपीएलको विशेषता भनेको अन्तर्राष्ट्रिय खेलाडीहरूको पनि सहभागिता हो र अन्तर्राष्ट्रिय खेलकुद टिभी च्यानलमार्फत पनि यसको प्रत्यक्ष प्रसारण हुनेछ ।