गोदावरी पुष्प मेला सुरु
काठमाडौं नजिकिँदो तिहार तथा छठलाई लक्षित गरी आयोजना गरिएको गोदावरी पुष्प मेला तथा प्रदर्शनी सुरु भएको छ ।
रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि भन्ने नाराका साथ गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको हो । कार्तिक ११ गतेसम्म जावलाखेलको खेल मैदानमा सञ्चालन हुने प्रदर्शनी पुष्प व्यवसाय प्रवद्र्धनका सम्बन्धमा समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्याउन आयोजना गरिएको आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल(फ्यान) ले जनाएको छ ।
विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको चार विधा (मिनियचर, रिफ्लेक्स, स्पाइडर र इनकर्भ) मा प्रतिस्पर्धा गराइएको छ ।
पुष्प व्यवसायीलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्नुका साथै व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पुर्याउन मेलासँगै प्रतिस्पर्धा पनि गराइएको आयोजकले जनाएको छ । प्रदर्शनीमा ४० हजारभन्दा बढीले अवलोकन गर्नुका साथै एक करोडभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको अपेक्षा छ । साथै फ्यानको आयोजना र लाइन्स क्लब अफ ग्लोबल फ्लोरिकल्चरसँगको सहकार्यमा मेला अवधिभित्र रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको पनि स्रोतले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्