१७ वर्षीय एआई अभियन्ता प्रवेश दाहाल: नेपालबाट नैतिक कृत्रिम बुद्धिमत्ताको विश्वव्यापी दृष्टि

काठमाडौँ

पुष ४ गते,

नेपालका युवा प्रविधि अभियन्ता प्रवेश दाहाल ले कृत्रिम बुद्धिमत्ता (AI) क्षेत्रमा उल्लेखनीय योगदान गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउँदै गएका छन्। KRIP Artificial Intelligence Tech Pvt. Ltd. का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) रहेका दाहाल हाल नेपालमै बसेर नैतिक, सचेत र मानव–केन्द्रित एआई विकासमा सक्रिय छन्।

१७ वर्षको उमेरमै एआई अनुसन्धानकर्ता, प्रविधि उद्यमी र लेखकका रूपमा स्थापित दाहालले बाल्यकालदेखि नै प्रविधिप्रति रुचि देखाएका थिए। सन् २०१८ मा १० वर्षको उमेरमा प्रविधि अध्ययन सुरु गरेका उनले १२ वर्षको उमेरमा अफ्रिका आधारित Africa Veeskit Project को प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए।

उनले विकास गरेको शैक्षिक एप BLE Class 8 ले ५० हजारभन्दा बढी डाउनलोड हासिल गरेको छ भने कक्षा १–१२ लक्षित ई–लर्निङ प्लेटफर्म पनि सञ्चालनमा छ। हालसम्म उनले ५० भन्दा बढी माइक्रोसफ्ट प्रमाणपत्र प्राप्त गरिसकेका छन् र २० भन्दा बढी प्रविधि परियोजनामा संलग्न भइसकेका छन्।

प्रवेश दाहालले लेखेको पुस्तक “The Last Human Protocol” कृत्रिम बुद्धिमत्ता र मानव चेतनाको सम्बन्धमा केन्द्रित छ। उक्त पुस्तकका लागि उनलाई Asia Book of Records बाट “Grand Master” उपाधि प्रदान गरिएको छ। साथै, उनलाई बुढानीलकण्ठ नगरपालिकाबाट Role Model of the Year अवार्ड समेत प्रदान गरिएको छ।

एआई शासन र भविष्यको प्रविधि संरचनासम्बन्धी उनका अनुसन्धानात्मक ढाँचाहरू — “The Seven Laws of the Robotic Age”“The Five Theories of Future Intelligence” — ले नैतिक एआई विकासको बहसमा नयाँ आयाम थपेको विश्लेषकहरूको भनाइ छ।

२०२४ मा उनले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्रीसँग भेट गरी नेपालमा एआई शिक्षा, प्रविधि नीति र नवप्रवर्तनबारे छलफल गरेका थिए। नेपाल टेलिभिजन, न्यूज नेपाल लगायतका राष्ट्रिय सञ्चारमाध्यममा उनले प्रविधि र डिजिटल रूपान्तरणका विषयमा आफ्ना धारणा प्रस्तुत गरिसकेका छन्।