मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न विभिन्न दलका विद्यार्थीहरुको माग
जनकपुर
मंसिर ४ गते,
सर्वोच्च अदालतले नीतिगत तथा दिर्घकालिन प्रभाव पार्ने निर्णय गर्न रोक लगाएको मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको गतिविधि रोक्का राख्न सात दल निकट युवा संगठनहरुले प्रदेश प्रमुख समक्ष माग गरेको छ । युवाहरुले आज प्रदेश प्रमुख डा.सुरेन्द्र लाभलाई ज्ञापन पत्र बुझाउदै सर्वोच्च अदालतको आदेशले मुख्यमन्त्री नियुक्ति प्रक्रियामा संसदीय लोकतन्त्रको मूल्य, मान्यता र पारदर्शितामाथि गम्भीर प्रश्न उठेको प्रथम दृष्ट्या पुष्टि भएको उल्लेख गरेकाले उनको अबांक्षित गतिविधि तत्काल रोक्न माग गरेका छन ।
युवा तथा विद्यार्थी संगठनहरूले विवादित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्ले कुनै पनि प्रकारको सरकारी निर्णय, नीति निर्माण वा सेवा–सुविधा ग्रहण गर्न नपाउने माग समेत गरेका छन्। युवा संगठनहरूले देश जेन–जी आन्दोलनपछि गम्भीर आर्थिक संकटमा रहेको समय विवादित नेतृत्वबाट हुने अतिरिक्त खर्च तथा निर्णयले प्रदेश प्रशासनमा थप अव्यवस्था सिर्जना हुने भन्दै चिन्ता व्यक्त गरेका छन्।
यस्तै, असंवैधानिक मानिएको मुख्यमन्त्रीले कर्मचारी सरुवा, पदस्थापन, कार्यालय प्रमुख तोक्ने, योजनाका चिठीपत्र वितरण गर्ने जस्ता कार्यहरू मौखिक दबाबमार्फत अघि बढाइरहेको भन्ने जानकारी आएको भन्दै सो कार्य तत्काल रोकिनुपर्ने उनीहरूको माग छ। संयुक्त संगठनहरूले सर्वोच्च अदालतको अन्तिम फैसला नआएसम्म कुनै पनि नीतिगत तथा प्रशासनिक कार्यान्वयन नगर्न तथा नगराउन सम्बद्ध निकायहरूलाई निर्देशन दिन आग्रह गरेका छन्।
