शैक्षिक प्रमाणपत्र लिन मात्रै पढ्ने परिपाटी अन्त्य हुनुपर्छः प्रकाश पाण्डे

कोभिड १९ लगत्तै देशको अर्थतन्त्र ठप्प भयो । उद्योगधन्दा तथा कलकारखाना बन्द भए । हवाई उडानमा आधारीत व्यवसायहरु झन् चर्को मार्कामा परे । शैक्षिक परामर्श क्षेत्र त्यसैमध्येको एक हो । यसै सन्दर्भमा रहेर हामीले ईक्यानका वर्तमान अध्यक्षसँग उनको व्यवसाय र वस्तुस्थितिका बारेमा छलफल गरेका थियाैं । प्रकाश पाण्डे शैक्षिक परामर्शदाताको रुपमा विगत पन्ध्र वर्षदेखि कार्यरत छन् । यस क्षेत्रमा उनकाे नाममा छुट्टै एक ब्राण्ड जाेडिन्छ भन्दा अतिशयाेक्ति नहाेला । हाल उनको नेतृत्वमा मेट्स र अर्बिट नाम गरेका दुई कन्सल्टेन्सीहरु सञ्चालनमा छन् । आफ्नो क्षेत्रमा मेधावि व्यवसायी भएर पनि प्रकाश निक्कै सरल लाग्छन् । उनी आफ्नो परिचय भने यसरी दिन्छन्, “ मेरो परिचय प्रकाश पाण्डे । गृह जिल्ला धादिङ । अध्ययन पछिको पछिल्लो समय काठमाडौंमा संघर्ष गर्दै छु । विगत पन्ध्र वर्षदेखि वैदेशिक शिक्षा परामर्शदाता तथा हालका दिनमा पराशर्मदातृ व्यवसायीको छाता संगठन ईक्यान केन्द्रीय अध्यक्षको रुपमा कार्यरत छु । अध्यक्षको रुपमा यो मेरो दोस्रो कार्यकाल हो ।”

शैक्षिक परामर्श व्यवसाय विद्यार्थीको जीवन र भविष्यसँग जोडिएको व्यवसाय भएकोले अत्यन्त संवेदशिल विषय हो । शैक्षिक परामर्शदाताले रुपमा आफ्नो जिम्मेदारी बुझ्न नसके विद्यार्थीको भविष्य नै खतरामा पर्नसक्ने पाण्डेको बुझाई छ । उनी भन्छन्, “ नेपाली विद्यार्थीहरुका सन्दर्भमा विदेश पढ्न जानु बहुतै विचार गरेर पाइला चाल्नुपर्ने विषय हो । विद्यार्थीको इच्छा चाहाना तथा अभिभावकको आर्थीक पाटो लगायतका विषयलाई ध्यानमा राखेर निर्णय दिनुपर्दछ ।”

प्रकाश आफूलाई सबल सक्षम र सबल व्यवसायी भन्न रुचाउँछन् । आफूले आफूलाई नेतृत्व मान्दै गर्दा “लिड बाइ एक्जाम्पल” बन्नुपर्छ भन्ने उनको ठम्याई छ । “नेतृत्वले कसरी हुन्छ आफूलाई ‘अपडेटेट’ राख्नुपर्छ । यसमा आफूलाई थप अभ्यस्त र चुस्त राख्न विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय व्यक्तित्वहरुसँग छलफल र तालीमहरु लिईरहेको हुन्छु ।” उनी थप्छन्, “सिक्दै सिकाउने क्रम निरन्तर जारी छ । यस अर्थमा पनि आफूलाई एक उदाहरणको रुपमा उभ्याएको मान्छु ।”

कोरोना कहरले शैक्षिक परामर्शक्षेत्रलाई कसरी सतायो भन्ने प्रश्नमा उनको जवाफ यस्तो छ “हाम्रो व्यवसाय अन्तराष्ट्रिय यात्रासँग जोडिएको विषय हो । हामी एक्दमै अप्ठेरो अवस्थामा छौं । त्यसमाथि पनि विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ नपाएको फाल्गुन महिनादेखि नै हो । यस अर्थमा हामी विगत चार महिनादेखि निष्क्रिय नै छौं । हामी उठ्नु भनेको राज्यको अर्थतन्त्र चलायमान हुनु हो । अर्थतन्त्र जोगाउन पनि सरकारले आफ्ना करदाता गुमाउनु हुँदैन । यस शून्यताबाट चिरेर ककसरी अघि बढ्ने भन्नेबारे सम्बन्धित व्यवसायी, बैंक वित्तिय संस्था सरकार तथा सरोकारवाला निकायहरुसँग छलफल जारी छ ।”

यस वर्ष कोभिड-१९ का कारण पछिल्ला वर्ष भन्दा विदेश जाने विद्यार्थीको आँकडामा कमि आएको छ । विद्यार्थीहरुले लिएका नो अब्जेक्सन लेटरको संख्यामा पनि गत वर्षभन्दा ५० प्रतिशतले ह्रास आएको देखिन्छ । प्रकाश भनछन् “कोरोना बाहेक विभिन्न राष्ट्रहरुको परिवर्तित भिषा प्रणालीका कारण पनि केही ह्रास आएको देखिन्छ । आगामी वर्षमा पनि यस संख्यामा सुधार भैहाल्ला भन्ने अपेक्षा छैन । यद्यपि, विद्यार्थीले नेपालमा भन्दा बाहिर बस्नु सुरक्षित ठाने भने, नेपालमा अपेक्षा अनुरुपको शैक्षिक गुणस्तर प्राप्त भएन भने त्यो संख्या अनपेक्षित रुपमा बढ्न पनि सक्छ । त्यत्तिकै अंकगणितमा आँकलन गर्न गाह्रो छ ।”

नेपालबाट विद्यार्थी विदेश पढ्न जान रुचाउनुको कारण नेपालमा राम्रो शिक्षा दिने शैक्षिक संस्था पर्याप्त मात्रामा नहुनु देख्छन्, उनी । शिक्षापछिको सुरक्षित ‘करिअर’ले पनि विद्यार्थी विदेश पढ्न जान चाहन्छन् भन्नेमा उनको जोड छ । “नेपालका विद्यार्थीले नेपालमा पढेर शिक्षा अनुरुपको रोजगारी पाउँदैनन् । देशमा रोजगारी सिर्जना छैन । प्रत्येक वर्ष श्रमबजारमा आउने पाँच लाख हारहारीका जनशक्ति कसरी व्यवस्थापन गर्ने भन्ने यथेष्ठ योजना छैनन् । जे जति छन् ती सबै कागजमा सिमित छन् । चार वर्ष पढेर श्रम गर्न खाडि नै लाग्नुपर्ने हो भने प्रारम्भमै विकल्प किन नपनाउने ?” राज्य सयन्त्रप्रतिको आक्रोश सँगसँगै प्रकाश विद्यार्थीको मानसिकता बोल्छन् । उनी प्रश्न गर्छन्, “नेपालमा अदक्ष र अर्धदक्ष जनशक्तिकै त उचित व्यवस्थापन हुन सकेको छैन, यस्तो अवस्थामा शैक्षिक बेरोजगार बनेर बस्न को तयार हुन्छ ? कुन चैं अभिभावकले लाखौं खर्च गरेर आफ्ना सन्तान बेरोजगार बसुन् भन्ने चाहन्छन् ? शैक्षिक बेरोजगार बन्ने तीतो यथार्थ झेल्नुभन्दा विद्यार्थी आफ्नो बाटो पहिल्याएका हुन् ।”

प्रकाश, शैक्षिक सरोकारवालाहरुलाई शिक्षा पछिको रोजगारीको अवसरमा ध्यान दिन सुझाव दिन्छन् । नेपाली विद्यार्थीले विश्वका उत्कृष्ट कहलियका विद्यालयमा छात्रवृति पाउने गरेको र विदेशमा पढेर झन् बहुआयामिक बनेर फर्कन्छन् भन्ने दृष्टिकोणबाट त हामी खुसी हुनुपर्ने उनको ठम्याई छ । “नेपालमा कति विद्यार्थीले छात्रवृतिमा अध्ययनको अवसर पाउँछन् त ? — नेपाली शैक्षिक संस्था समय सापेक्ष सुधार हुनु जरुरी छ ।” उनी आफ्नो प्रतिप्रश्नकाे उत्तर आँफै दिन्छन् ।

नेपालमा रोजगार अनुरुपको शिक्षा र शिक्षा अनुरुपको रोजगार लागु नहुनुमा मुख्य दोष नीति निर्माण तहलाई दिन्छन् । भन्छन्, “हामी उत्कृष्ट नीति बनाउनमा पनि अब्बल छौं र कायान्वयन नगर्ने परिपाटीमा त हामीलाई कसैले उछिन्नै सक्दैन ।” आफ्नो भनाई पुष्टि गर्न उद्योग मन्त्रालयको उदाहरण यसरी दिन्छन्, “त्यहाँ नेपालमा अधिकतम् उद्योगधन्दाहरु खोलिनुपर्ने भनेर लेखिएको छ । तर व्यवहारमा त देखिदैन । काजगमा लेखेर मात्रै उद्योग चल्दैन युवालाई कसरी उद्यमी बनाउने भन्नेबारे सोच लिनु जरुरी हुन्छ । सीप सिकाईका परियोजनाहरु लागु गरेर या सहुलितय ऋण दिएर युवा उथ्थान र उद्यमशिलताको विषयमा बोल्न ढिलो भैसकेको छ ।”

उत्कृष्ट नीति तर्जुमा गर्ने श्रम तथा रोजगार मन्त्रालयसँग आर्थीक वर्षमा रोजगार प्राप्त गर्ने र बेरोजगार रहेकाहरुको यकिन ‘डाटा’ नभएकोमा खेद प्रकट गर्छन् । “फलानो देशसँग नयाँ श्रमसम्झौता लागु भनेर प्रेस विज्ञप्ति जारी गर्नुमा मन्त्रालय आफ्नो सफलता देख्छ । शिक्षा मन्त्रालय कर्मचारी भर्ना गर्नमा केन्द्रीत देख्छौं । उदाहरणका लागि नेपालका कुनै शिक्षाविद्सँग किन तीन वर्षे ब्याचलरलाई चार वर्षेमा रुपान्तरण गरेको भन्नेबारे स्पष्ट धारणा छैन । यूरोप अष्ट्रेलिया बेलायतका र अमेरीका यूनिभर्सिटीले चलाएका तीन वर्षे ब्याचलर सर्वमान्य हुने नेपालको तीन वर्षे स्नातकलाई अन्तराष्ट्रिय मान्यता दिलाउनतर्फ किन नसोचेको ? भारतसँग पनि तीन वर्षे स्नातकको अन्तराष्ट्रिय ख्याती छ ! यसरी कसरी हुन्छ शिक्षा सुधार र देश विकाश ?” उनी आफ्ना गुनासाहरू एकै सासमा रित्याउछन् ।

प्रकाश, नेपालको शिक्षालाई अन्तराष्ट्रिय मान्यता दिलाउन विश्वविद्यालयहरु खोजमूलक बन्न जरुरी देख्छन् । यथेष्ट स्रोत साधन र लगानी भएर पनि शिक्षा गुणस्तरयुक्त हुन नसकेकोमा अत्यन्त चिन्तित छन् । उनी भन्छन्, “ हाम्रा मन्त्रालयहरु तथा सरोकार राख्ने संस्थानहरु कर्मचारी भर्ना गर्ने अखडा हुनुभएन । विद्यायमा वर्षेनि फेरिन्छन् तर विसौं वर्ष त्यहि दुई चार मान्छे शिक्षा विद् भै रहन्छन् । पचास वर्ष पुरानो युगको मान्छे आजको आवश्यकता नबुझि कसरी शिक्षाविद् भै रहन सक्छ ? हामीले सोच्नु जरुरी छ ।” यति भनेर उनी रोकिएनन्, “हामी विद्यार्थी केन्द्रीत सिकाई लागु गर्ने सम्बन्धमा पनि निकै पछाडि छौं । अझैपनि हामी विद्यालय नधाई पढ्न र पास हुन सक्तैनौ । एक कलेज पढ्ने विद्यार्थी, श्रम गर्दै पढ्ने वातावरण खै ? पेटसँग लड्दै गर्दा उसको शिक्षा प्राप्तिको अधिकार हनन् भै रहेको छैन ? त्यो सबै विषयहरूको परिबन्ध विदेशमा मिलेको हुन्छ । त्यसैले जबसम्म नेपालको शैक्षिक गुणस्तर र आर्थीक स्थिति सुधार हुँदैन विद्यार्थी विदेश पढ्न जाँदा नै सुरक्षित उज्ज्वल भविष्य देख्छन् । यसलाई कसैले पनि अन्यथा नलिउ ।”

नेपालको शिक्षा सुधारका विषयमा उनको धारणा यस्तो छ, “हामीले हाम्रो कोर्शहरुलाई समय सापेक्ष परिमार्जन गर्दै लगेर जानुपर्छ । सबैले ब्याचलर र मास्टर्स गर्नुपर्छ भन्ने जरुरत छैन । जस्लाई जति ज्ञान आवश्यक छ त्यति पढे पुग्छ । आफ्नो पेशा श्रमलाई आवश्यक पर्ने ज्ञान हाँसिल गरेमात्र पुग्छ । श्रम तथा रोजगार बजारमा आवश्यक भए अनुरुपको परियोजना जारी गर्नुपर्यो । एकाडेमिक मान्यता गर्ने ६ महिने तथा १ वर्षे भोकेशनल एजुकेशन लागु गरेर श्रम बजारमा योगदान दिने परियोजना लागु गर्नुपर्यो । अभिभावकसँग पुँजी छ मसँग फुर्सद छ पढ्दिउ न त भनेर कलेज धाउने परिपाटी पनि परिवर्तन हुनु जरुरी छ । नसकी नसकी पढ्नु पर्दैन । त्यो समय सीप सिक्ने र श्रम बजारमा खर्च गर्नमा ध्यान दिऔं । ”

नेपालको शिक्षा सुधार गर्नलाई कुनैपनि माध्यम अपनाउन सकिने उनले बताए । भन्छन्, हामीले यसरी शिक्षाको माध्यमहरु परिवर्तन गर्न सक्ने हो भने शैक्षिक क्रान्ति सँगसँगै श्रमबजार पनि उन्नत हुने थियाे । उनी फेरी थप्छन्, “ईक्यान विद्यार्थी र शिक्षण संस्था बिचको सेतु हो । हामी विभिन्न विषय विज्ञ तथा यवसायीक व्यक्तित्वहरुसँग सहकार्य गर्न तत्पर छौं । उदाहरणका लागि त्रिविले दिने गरी सर्टिफिकेट कोर्सहरु सञ्चालन गर्न नीजि क्षेत्र तयार छ । त्यस्ता याेजनाहरू सञ्चालन गरेर शैक्षिक समृद्धि हाँसिल गर्न सकिन्छ ।”

नेपालकाे शिक्षामा आवश्यक सुधार गर्न सकिए नेपाल छिट्टै अन्तराष्ट्रिय शैक्षिक गन्तव्य (एजुकेसन हब) बन्नसक्ने बताउँछन् । कहिलेसम्म बनाउने सवालमा भने उनी शैक्षिक गुणस्तर उकास्नु जरुरी देख्छन् । “हाम्रा वर्तमान संरचनामा हामी एक्जाम दिने र पास हुनेमा सिमित रहेका छौं । त्यसैका लागि मात्र त पढ्ने होइन । यो गर्वको नाममा चलेको घमण्ड तोडिनुपर्छ ।” वर्तमान समयमा यस विषयले अझै प्रसय पाउने क्रम बढेकोमा पाण्डे अत्यन्त चिन्तित देखिन्छन् ।

नेपाललाई शैक्षिक गन्तव्यको रुपमा विकाश गर्नमा आफूहरुले आवाज उठाएको नै करिब १२ वर्ष बितेको बताउँछन्, पाण्डे । त्यसका लागि हामीले बेस्ट ब्रेनहरु शिक्षण पेशातर्फ लाग्नु नितान्त आवश्यक देख्छन् उनी । “तीक्ष्ण क्षमताका विद्यार्थीलाई शिक्षा र शिक्षण पेशामा आकर्षित गर्ने नीति तयार पार्नुपर्ने उनकाे निष्कर्ष छ । “नेपाललाई शैक्षिक गन्तव्यको रुपमा विकाश गर्ने भनेर मन्त्री सोमप्रसाद पाण्डेको कार्यकालमा नै नीतिमा लेखिएकाे छ। त्यसको अनुकुल वतावरण तयार पार्ने काम चैं शिक्षा मन्त्रालयको हो । मन्त्रालयले वातावरण तयार पार्ने जिम्मेवारी बहन गर्नुपथ्र्यो । नीतिमा मात्र सीमित राख्नु हाम्रो उद्देश्य थिएन र होइन । यस नीतिलाई जतिसक्दो चाँडो नियमनमा गएर शिक्षा सुधार गर्नमा लाग्नु जरुरी छ । २०७६ को क्याबिनेटले पनि यसलाई अनुमोदन गरेकोहुनाले केही आशातित हुने ठाउँ छ ।” भविष्यप्रतिकाे आशा जगाउँछन् । उनी यतिमै राेकिदैनन्, “शिक्षामा लगानी राज्यको दायित्व हो । राज्यले आफ्ना शिक्षकहरुलाई क्षमता कसरी अभिवृद्धि गराउन सकिन्छ त्यसबारे सोचोस् हामी राज्यबारे सोच्छौं । दुई पेशा अपनाएर र चार संस्था धाएर जीवन धान्न बाध्य अध्यापकले शिक्षा सुधारमा योगदान दिन सक्तैन । सरकारी विद्यालयहरु अभिभावकको पहिलो रोजाई बने लगानीको प्रतिफल प्राप्त हुने थियो । सामुदायिक विद्यालयका शिक्षकहरु पनि उत्तिकै जिम्मेवार हुन जरुरी छ । शिक्षककले आफ्ना सन्तानलाई दिन चाहेको शिक्षा पढाउँदा पनि डेलिभर हुने गरी अध्यापन गर्न जरुरी हुन्छ । यति जिम्मेवारी बोध भएमा मात्रै हाम्रो देश शैक्षिक गन्तव्य बन्ने एक खुड्किलो उकालो लाग्छ ।”

नेपालबाट विदेश पढ्न जाने विद्यार्थी फर्कदैनन् भन्ने सम्बन्धमा उनी फरक मत राख्छन् । भन्छन्, “भारत चीन थाइल्याण्ड मलेसिया फिलिपिन्स लगायतका देश जाने विद्यार्थीहरु फर्केर आउँछन् । अमेरीका, अष्ट्रेलिया जापान लगायतका मुलुक जाने पनि अधिकाशं फर्किन्छन् । नेपालबाट बाहिरीने कुल विद्यार्थीमध्ये ५० प्रतिशत विद्यार्थी विकाशोन्मुक मुलुकमा जान्छन् । बाकी ५० मात्रै विकशित मुलुकमा जान्छन् । केही ढिलाे चाडाे अवश्य हाे तर नेपालबाट गएका ७० प्रतिशत भन्दा बढि नेपाली नेपाल फकर्नुहुन्छ । यसरी समग्रमा हेर्दा ३० प्रतिशत विकशित मुलुकमा रहेका नेपाली नफर्कनुको कारण त्यहाँको रहनसहन, अवसर र सामाजीक वातावरणका कारण रहेकाे छ । त्यहाँको अवसर र वातावरण यहाँ निर्माण हुने हो भने वहाँहरु फर्कनुहुन्छ । त्यहाँ भएको छाडेर आउँदा पोल्टाको नरहने समस्याका कारण वहाँहरु फर्किन नसक्नु भएको हो ।”

नेपालमा भिषा आएर रोकिएका विद्यार्थीहरूकाे हकमा उनीहरुको समस्या व्यवस्थापनको लागि पनि गृहकार्य भैरहेको उनी बताउँछन्, “शिक्षा मन्त्रालयसँग भएको सरसल्लाह भए अनुसार छिट्टै नै नो अब्जेक्सन लेटर प्रदान गर्न सुरु गर्नेछौं । केही हप्ता अगाडि भएको निर्णयमा आवेदन खुला गरिएको छ । समय परिस्थिति मध्यनगर गरेर वितरण सुचारु गर्न मन्त्रालय पनि सकारात्मक छ । हामीले पहल गरिरहेकै छौं । अन्तराष्ट्रिय बोर्डर खुल्ने दिनबाट सुचारु गरिने भनिएको छ । विद्यार्थीहरु करिब २२०० को हारहारीमा छन् । र, नो अब्जेक्सन सि ओ इ लगालयका कारणबाट लगभग अन्य २५०० विद्यार्थी रोकिएका छन् । विद्यार्थी जान चाहेको देशको संक्रमणको अवस्था र दुई देशबिचको समन्वयबाट हुने भएकोले पनि हाम्रो भूमिका गौण छ । भिजा लागिसकेका विद्यार्थीले चाहेको खण्डमा सम्बन्धित विद्यालयसँग सहकार्य गर्दै अनलाईन माध्यमबाट आफ्नो कक्षा अगाडि बढाउन सक्छन् । अवस्था सामान्य भएपछि जान सक्छन् र अहिलको समयलाई सदुपयोग गर्न सक्छन् । कतिपय देश प्रक्रियागत रुपमा अगि बढिसकेका छन् । जापानको हकमा भने अक्टोबर २०१९ मा जारी भएको सिओइ ले २०२१ को अप्रिलसम्म वैधानिक मान्यता प्राप्त गर्न सक्नेछन् भनिसकेको हुनाले त्यसमा पनि हामी खासै आत्तिहाल्नु पर्ने अवस्था छैन । यसमा इक्यानले नेपालको अवस्थाको बारेमा नेपालस्थित जापानी दुतावाससँग लगातार जानकारी गराइरहेका छौं । उहाँहरुलाई चित्त बुझेको खण्डमा हामीले विद्यार्थी पठाउन सक्ने वातावरण बन्छ । भाद्र १ गतेबाट नेपालले उडान खुल्ला गर्ने भनेकोले केही हदसम्म आशातित होऔं । कुनै विषेश परिस्थिती नभए हामी छिट्टै विद्यार्थी पठाउन सक्षम हुनेछौं ।”

मन्त्रालयले साैहार्दपूर्ण व्यवहार गरेमा अझै शसक्त भएर अघि बढ्न सकिन्छ भन्छन् उनी, “शैक्षिक परामर्शदाता र शिक्षा मन्त्रालयको सम्बन्धको विषयमा हामी मन्त्रालय अन्तर्गतका संस्था र संगठन हौं । मन्त्रालयको अनुमतिमा संचालित भएको नाताले मन्त्रालय हाम्रो अभिभावक हो । अभिभाकत्व ग्रहण गर्नबाट मन्त्रालय पछि हट्न मिल्दैन । यस पेसा व्यवसायलाई समृद्ध बनाउन खराब तत्वहरुलाई निष्किृय गर्दै राम्रा र सबल पक्षहरुको उजागर गर्दै सहकार्य गर्दै लानु आजको आवश्यकता हो । हामी मन्त्रालयसँग नजिकको सम्बन्ध बनाउन चाहन्छौं आशा गर्छौ मन्त्रालयले हाम्रो अपेक्षामा तुषारापात गर्नेछैन ।”

नेपालमा शैक्षिक परामर्श दिने जतिपनि संस्थाहरु मन्त्रालयकाे नियम पुरा गरेर मात्रै चल्नुपर्छ भन्छन् प्रकाश, “सबैले मन्त्रालयको स्वीकृति लिएर मात्रै गर्नुपर्छ । सरकारले परिपालनमा कडाई गर्छ भने साथ दिन हामी तयार छौं । नियम पुरा गरेकाहरुलाई मन्त्रालयले स्वीकृति प्रदान गर्नुपर्छ । केही सुधारका पक्ष छन् भने त्यसमा पनि कमि कमजोरी औल्याएर सुधार गर्न लगाउनुपर्छ । साथै सरकारको निगरानी बाहिर रहेर यस्ता संस्थाहरु संचालन हुनु हुँदैन भन्छौं, हामी । स्वीकृति लिएकाहरुको हकमा समयमा नवीकरण हुनुपर्यो । यदि कोही विद्यार्थी आफैले विश्वविद्यालय खोजेर जान्छन् भने उसले स्वीकृति नपाउने भन्ने हुँदैन तर भोलीका दिनमा भैपरि आउने दुःख झेल्दा कन्सल्टेन्सिलाई दोष दिनु जायज हुँदैन । यसमा एक स्पष्टता आवश्यकता छ । उदाहरणका लागि हावर्ड विश्वविद्यालय जान कुनै कल्सटेन्सीको जरुरत हुँदैन । हाम्रो जोड भनेको मन्त्रालयबाट स्वीकृत भएका संस्थाहरुबाट मात्र सेवा दिने र लिने गर्नुपर्छ ।”

उनी थप्छन्, “दास्राे कार्यकालको अध्यक्षता ग्रहण गर्दै गर्दा शैक्षिक परामर्श क्षेत्रलाई पारदर्शी र सम्मानित पेशा बनाउन कटिबद्ध छौं । यसमा मेरो भूमिका मर्यादित कसरी पार्न सकिन्छ भन्नेमै जोड छ । मन्त्रालयबाट नीतिगत रुपमा समाधान हुन नसकेका मुख्य विषयहरुलाई यस कार्यकालमा पहल गरेर स्पष्ट गर्न लागि परेका छौं । त्यस पश्चात कुनै पनि शैक्षिक परामर्शदातृ संस्था मन्त्रालयको स्वीकृति बेगर चल्ने परिपाटी नहोस् भन्ने हाम्रो मुख्य अभिप्राय हो । संस्थागत सिकाइ र तालीमहरु प्रदान गर्ने सोच बनाएर अघि बढेका छौं । इक्यानको आफ्नै भवन निर्माण गरेर अझै व्यवस्थित र परिस्कृत ढंगबाट अघि बढ्ने लक्ष्य रहेको छ ।”

नेपालका शैक्षिक परामर्शदाताले डलर मात्रै बाहिर पठाउँदैनन्, विद्यार्थीलाई ज्ञान आर्जन गर्न पठाउँछन् भन्छन् प्रकाश, “शिक्षित हुने, सबल सक्षम बन्ने पाटो भूलेर आक्षेप लगाएर मात्रै त यथार्थपरक विश्लेषण भएको मान्न सकिदैन । नेपाली दक्ष जनशक्ति बनेर फर्किन्छन् भन्ने विषयलाई भूल्नु हुँदैन । उनी भन्छन्, हरेक वस्तुको मूल्य हुन्छ नेपालमा पनि निशुल्क पढ्न पाइदैन । विश्व बजारमा बिक्ने ज्ञान हाँसिल गर्न थोरै खर्च गर्नु नाजायज होइन । त्यसो त त्यहि विद्यार्थीले आफूलाई उभ्याउँदै गर्दा अध्ययन पश्चात कमाएको पैसा देशमै फीर्ता पठाउने हो । पछिल्ला वर्षको तथ्याङ्क हेर्ने हो भने पनि नेपाल भित्रिने रेमिट अमेरीका अष्ट्रेलिया जापान पछि मात्रै खाडिको छ । खाडिमा श्रम गर्नु चैं सहि त्यता गएर श्रम गर्नु चैं गलत हुन्छ भन्नु ठीक होइन । नेपालबाट जाने रकम ४५ अर्ब छ भने उताबाट आएको रेमिट ३ खर्ब भन्दा ज्यादा छ । हामीले खण्डन गर्दैगर्दा यस क्षेत्रकाे राम्रा पाटो भूल्नु भएन ।”

आफ्नो भनाईमा जोड यसरी दिन्छन् प्रकाश, “विद्यार्थी पढ्न जान्छन् । पढ्ने क्रममा केही निश्चित समय श्रम गरेर कमाउछन् । आफ्नो खर्च पुर्याउछन् । पढाइ सकिए लगत्तै निमानुसार पाउने सुविधाको उपयोग गर्छन् । परिवार र देशलाई सहयोग गर्छन् । हाम्रो भूमिका उनीहरुलाई ती सबै कुराको ज्ञान दिने हुन्छ । ग्यारेन्टि गर्ने होइन । विद्यार्थीले श्रम गर्छन तर अध्ययन पश्चात । हाम्रो वास्तविकता त नेपालमा नै पढेपनि खाडिमा श्रम गर्न जानु नै हो । विद्यार्थीका रुपमा गएकाहरुले आर्जन गर्ने सीप र दक्षता तथा पाउने श्रमको मूल्य पृथक हुन्छ ।”

भविष्यमा देशलाई चाहिने जनशक्ति बाहिरीएकाे कुरा यथार्थ मान्दैनन् प्रकाश, “भर्खलै हुर्कौला उमेरका विद्यार्थी विदेश जाँदैमा नेपाल अन्धकारमय हुन्छ भन्ने कुरालाई म विल्कुल मान्दिन । यहाँ बस्नेहरुले के गर्छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । देशलाई उज्यालोको बाटोमा लाने जिम्मेवारी यहाँ बस्नेहरुको हो । उनीहरुले चैं बाहिर जानेलाई फर्किउ फर्किउ लाग्ने गरी काम गरेर देखाउन सक्नुपर्यो । हामीले खुसी यस मानेमा पनि हुनुपर्छ कि नेपालीहरु विश्वका जुनसुकै कुनामा छरिएर रहेका भए पनि कुनै कुनै रुपमाा नेपालको अर्थतन्त्रलाई सहयोग पुर्याउने हिसाबले काम गरीरहेका छन् । प्रतक्ष्य रुपमा सहयोग पुर्याउन भनेर हामी चाहन्छौं भने त्यो जिम्मेवारी राज्यको हो ।”

उनी थप्छन्, “एसियन मुलुकमा जनेहरु पि आर का अवसर नरहेकोले फर्केका भने होइनन् । त्यहाँ जाने विद्यार्थीहरू विशुद्ध अध्ययनको अभिलाषा लिएर जाने हुन्छन् । विकशित मुलुकमा जानेहरुको पढाइ सँगसँगै आर्थीक उपार्जन पनि जोडिएको हुन्छ भने अन्य मुलुक जाने अधिकांश विद्यार्थीहरु आफ्नै खर्चमा पढ्न जानुहुन्छ । थोरैले मात्र छात्रवृत्ति पाएका हुन्छन् । त्यसैले आफूले त्यहाँ खर्च गरेको लगानी उठाउन पनि उहाँहरु केही समय बिताएर फर्कनुहुन्छ । त्यहाँ रहदै गर्दा पाएका वैधानिक हक अधिकारहरुको उपयोग गरेर आफ्नो करिअरलाई एउटा बाटो दिनुहुन्छ । परिवारको आवश्यकता र जिम्मेवारी लाई पुरा गर्न उहाँहरु त्यहाँ रहनुहुन्छ । उहाँहरुमा त्यहि अनुरुपको मनोविज्ञान बनेको हुन्छ । त्यहाँ जे छ यहाँ हामीले दिलाउन सक्ने हो भने उनीहरु अवश्य नै फर्कने छन् ।”

नेपालमा स्वतन्त्रता नभएर विद्यार्थी विदेशिएका हुन् कि भन्ने प्रश्नमा उनी आंशिक असहमत हुँदै भन्छन्, “शिक्षाका कारण नभएका नआएका विकृति हटाउने सवालमा चैं हामी सजग हुनुपर्छ । यसका अलावा हाम्रो भाषा साहित्य जुन पूर्वीय दर्शन सिद्दान्त छ यो त विश्वमै उत्कृष्ट छ । यदि उहाँहरुको समस्या दर्शन र सिद्दान्तलाई लिएर हो भने चै खोट उहाँहरुमै छ । हरेक नेपालीले योगदान नदिएसम्म नेपाल बन्दैन । मेरो सवालमा पनि पढ्न विदेश पठाउँछु तर मेरो पेशा दुःख सुखका साथ यहीं गरिरहेको छु । त्यसैले म आफ्ना आँखाबाट विदेश पढ्न गएका विद्यार्थी नेपाल फर्कदा भविष्य छैन भन्ने सवालमा विल्कुल विश्वाश गर्दिन । हामी हरेकले राज्यले मलाई के दियो भन्दा पनि मैले राज्यलाई के दिएँ भनेर आफैले आँफूलाई प्रश्न गर्न जरुरी छ । कुरुति छन् भने हटाउनु जरुरी छ तर परिवर्तनका नाममा संस्कृति नामेट पारिदिनु हुँदैन। मुख्य कुरा आर्थिक पाटो हो । आर्थीक पक्ष सबल भए सम्पूर्ण कुरा ठिक ठाउँमा आँउछ । विदेशमा हुँदा ज्यादा कमाएको भान होला तर देशमा बसेर परिवारको साथ रमाउँदै जाँदा भोलीको दिनमा हामी आत्मनिर्भर बन्नु महत्वर्पूण हुन्छ ।”

नेपालकाे शिक्षा राम्राे भएपछि जाने क्रमहरु पनि रोकिन्छन् भन्ने धारणा उनकाे छ, “नेपालको माटो सुहाउँदो शिक्षाका लागि विदेश जानुको सवालमा अहिले नेपालको त्रिभुवन विश्वविद्यालय हावर्ड र क्याम्ब्रीज बराबरको सवल र सक्षमको रुपमा स्थापित गरौं न । नयाँपन लिन नयाँ कला संस्कृति सिक्न त अष्ट्रेलिया र अमेरीकाका विद्यार्थी पनि जापान र चीन आउँछन् । नेपालीहरु विश्वका कुना काप्चामा गएर शिक्षित हुने अवसरहरु पाइरहेका छन् । बाहिर जानेकाे भन्दा पनि हामी यहाँ बस्नेले चैं देशलाई के कति याेगदान दिइरहेका छाैं त ? त्यसकाे लेखाजाेखा गराैं । यहाँ राम्रो बनाऔं । गएकाहरु पनि फर्किन्छन् ।”

विदेशी विद्यालयहरूले नेपाललाई आवश्यक पर्ने जनशक्ति उत्पादनमा सहयाेग पुर्याइरहेकाे उनकाे दाबी छ, “हाम्राेमा देशमा भएका अपडेटेड जनशक्ति को डाटावेस छैन । हाम्राेमा वार्षिक कति जनशक्तिकाे खाँचाे पदर्छ ? त्यसकाे लेखाजोखा खोई ? देश हाँक्न सक्ने म्यानपावर कहाँकाे उत्लेपादनले ढाकेकाे छ ? त्यसको लेखाजोखा हुनुपर्दैन ?”

यसै सन्दर्भमा उनी अझै थप्छन्, “हामीकहाँ केही शिक्षण संस्थाले विदेशी विद्यालयका शिक्षण संस्थाकै प्रणाली अनुसार पठनपाठन चलाउँछन् । यद्यपि तीनले प्रदान गर्नसक्ने शिक्षा पर्याप्त हाेइन, लिमिटेट मात्र छन् । त्रिविले सञ्चालन गरेका बीबीए र बीआइएम मा कोटा प्रणाली लागु गरिएको छ भने त्यहाँ पनि लागु छ नि त । सकिन्छ भने त अझै विदेशी विद्यालयको डिग्री यहाँ पढाउने भन्दा पनि हाम्रा स्वदेशि विद्यालयको शिक्षालाई त्यो स्तरमा उकास्नु भन्नेमै हाम्रो जोड दिनुपर्छ । हामीकहाँ त के छ भने एक व्यक्ति अनशन बसेकै भरमा, भएका नागरीकले देशमै पढ्न पाउने हक अधिकारलाई वञ्चित गरिदिन्छौं । खुला बजार अर्थनीति अन्तर्गत निजी क्षेत्रले पनि शिक्षामा लागनी गर्न पाइन्छ भनेर न अगाडि आएको हो । निजी क्षेत्रलाई अघि सार्न मन छैन भने सरकारले आँट गरोस् सबै विद्यालय सरकारी होस् त्यो भन्दा उत्तम त केही नहोला । व्यवस्थापन गर्न सकिन्छ भने गरोस् । प्राइभेट सेक्टरलाई किन बेकारमा दोष दिइरहनु पर्यो । सरकारी अस्पतालका डाक्टर बिहान बेलुका निजी हस्पिटल र क्लिनिकमा सेवा दिन गैरहेका हुन्छन् । नीति बन्दा एकातिर व्यवहार अर्कोतिर शिक्षाका विषयमा बहस गर्नेहरुले आँफैले चलाएको शिक्षण संस्था कति व्यवस्थित रुपमा चलेको छ त्यसको लेखाजोखा दिउन् न ।”

देशमा नीजि क्षेत्रलाई सकारात्मक पाटोबाट हेर्ने दृष्टि जगाउन नसकेसम्म युवा विद्यार्थी बाहिरीने क्रम नराेकिने उनकाे बुझाइ छ, “संस्था राज्यले पहुँच पुर्याउन नसकेको ठाउँमा गएर प्राइभेट संस्थानले खोल्दैनन् । जहाँ पाएक पर्छ, जहाँ विद्यार्थीको उपलब्धता छ, त्यहाँ खुल्छन् । ग्रामीण भेगमा शिक्षा र स्वास्थ्य पुर्याउने जिम्मेवारी राज्यको हो । निजी क्षेत्रसँग राज्य सहकार्य गरेर अघि बढ्न खोज्न भने हामी तयार छौं तर यति भन्दै गर्दा सीमित स्रोत साधन भएका मानव वस्तिमा गएर मेडिकल कलेज खोल भन्नु कत्तिको व्यवहारीक हुनसक्छ ? विद्यालय खोलिए पनि प्राध्यापक गाउँ गएर पढाउन तयार होलान् ? त्यसैले ग्रामीण भेगमा स्वास्थ्य शिक्षण संस्था होइन स्वास्थ्य संस्था पुर्याउनु जरुरी छ । नेपालका दूर दराजका स्थानमा सरकारी कोटामा पढेका डाक्टर गएर सेवा दिन तयार छैनन् भने त्यहाँ गएर पढाउने शिक्षक कस्ले उपलब्ध गराउने ? राज्यलाई विकेन्द्रीकरण गर्ने सवालमा सातवटै प्रदेशमा त्यस्ता शहरहरुको विकाश गर्नु पर्यो जहाँ निजीक्षेत्र आकर्षित हुन सक्छन् । विद्यार्थीले स्थानीय स्तरमा शिक्षा प्राप्त गरुन् लगानी कर्ताले लगानी सुरक्षणको वातावरण । गाउँका प्रत्येक घरको आँगनमा रोड पुर्याउनुको सट्टा त्यहाँको वस्तिलाई एकै ठाउँमा ल्याएर कसरी हुन्छ दिगो विकासको सोच सहित पहुँच पुर्याउने कार्य गरीनु जरुरी छ । यस्ता सुधार गर्नुपर्ने ठाउँ त धेरै छन्, भिजनरी नेतृत्वकाे खाँचाे छ ।”

शिक्षामा निजी क्षेत्रकाे चासाे र लगानीबारे उनी अझै थप्छन्, “बृहत हितका विषयलाई सही हो भन्नबाट हामी चुक्नुहुँदैन । लगानीको अनुपातमा केही प्रतिफल पाइन्छ भने मात्रै निजीक्षेत्र आकर्षित हुन्छ । यसलाई नाजायज मान्नु हुँदैन । निजी क्षेत्रको प्रथम उद्देश्य नाफा कमाउने होे । नाफा कमाउदा कमाउँदै सामाजिक दायित्वलाई सँगसँगै अघि लैजानु हो । समग्रमा हाम्रो देशलाई कस्तो नीति र शिक्षाले प्रभाव पार्छ फाइदा पुर्याउछ भनेर बहुआयामिक रुपमा सोच्न जरुरी छ । राज्यले कहाँ शहर बसाउने कतिवटा शैक्षिक संस्था कहाँ खाेल्ने, त्यसलाई उत्कर्ष विन्दुमा पुर्याउन कुन नेतृत्वलाई अघि सार्ने भनेर सोच्नु पर्छ । नेतृत्बाट धेरै ठूला ठूला अपेक्षा राख्दै गर्दा हाम्रो अर्थव्यवस्थालाई ख्याल राखौं । त्यसैले सुधारको मोडेल तयार पार्दै जानुपर्छ । हामीले चुनेर पठाएका नेतृत्वसँग कस्ता अपेक्षा राख्ने मुख्य विषय हो । शहरी विकाश परियोजनाको नीति बनाएर लागु गर्नु जरुरी छ । नेतृत्वले हामीलाई के दिए त्यसको लेखाजोखा गरौं र हामीले पाएका सुविधा र विकाशलाई ख्याल गरेर हिसाब खोजौं । विश्व सापेक्ष पर्याप्त लागेन भने मत र मन परिवर्तन गर्नुपर्छ । परिवर्तन गर्न सक्नु पनि पर्छ । ” कहाँ कस्तो योजनाबद्ध शहरी विकाशमा ध्यान दिने भन्ने विषयमा दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्नेमा पनि उनको जोड छ ।

नेपालमा विश्वविद्यालहरूबिच समन्वयकारी भूमिका खेल्ने सन्दर्भमा एजुकेशन एक्चेन्ज प्रोग्राम लागु गर्नलाई यूनिभर्सिटमा भएका व्यक्तिहरुले जिम्मेवारी बोध गर्न जरुरी छ । पाण्डे भन्छन्, “आफ्ना विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीको चौतर्फी विकाश कसरी गर्न सकिन्छ त्यो उहाँहरुले सोच्ने विषय हो । त्यस्ता केही प्रोग्राम त सञ्चालन भएका छन् । त्यति नै पर्याप्त भने होइन । सबै विद्यार्थीले आफ्ना इच्छा अनुसार आन्तरिक बाह्य विश्व विद्यालयहरुको अनुभव बदल्न पाउनुपर्छ । कोरिया चीन लगायतका केही मुलुकहरुमा लागु भएको देखिन्छ तर यत्ति नै पर्याप्त भने होइन । नेपालका विश्वविद्यालयहरु र विदेशि विद्यालयहरु बिचको सहकार्य हुने भएकोले त्यसमा हाम्रो भूमिका गौण हुन्छ । यद्यपि भाषा संस्कृति लगायका विषयमा जानकारी दिने सन्दर्भमा हाम्रो भूमिका यथावत रहनसक्छ । दुई विद्यालयहरुबिचको समन्वय गराउने भूमिका पनि हामी खेल्न सक्छौं । उनीहरुको समस्या व्यवस्थापनको लागि पनि गृहकार्य भैरहेको छ । हाम्रा नेतृत्वदायी अग्रजहरूकाे सोचमा फराकिलोपनको जरुरी छ । सामान्य अनुभवका लागि यो अवधि पनि एक महत्वपूर्ण कोशेढुङ्गा त हो तर नेपाली विद्यार्थीहरु पढाइ र पढाइपछिको भविष्यलाई लिएर विदेशिने गरेको तथ्याङ्क छ । भविष्यमा नेपाल नै राम्रो हुँदै गर्दा नेपाल पनि विदेशी विद्यार्थीकाे लागि विकल्प हुनसक्छ ।”

नेपालबाट पढ्न विदेश जानुपूर्व पारिवारीक रूपमै राम्राे छलफल गर्न यसरी सुझाउँछन्, “विदेश जाने विषय आँफैमा सहज विषय होइन । घरपरिवार छाड्ने देखि नेपाली रुपैँयालाई डलरमा खर्च गर्नेसम्मका यावत विषयहरुलाई ध्यानमा राखेर हेर्नुपर्छ । बाबाआमाले खर्च पुर्याएर घरमा राखेको बच्चा आफैले खर्च पुर्याएर पढ्छु भन्ने आँफैमा चुनौती पूर्ण विषय हो । सोचेजस्तो परिस्थिति नहुन पनि सक्दछ । त्यसैले म विदेश गए मलाई अरुले ढाड्यो छल्दियो भन्नुभन्दा पूर्ववत रुपमै राम्रोसँग बुझेर पाइला चाल्नु राम्रो । कोभिड १९ ले त झन् सजक हुनुपर्ने देखाएको छ । सीमित स्रोत साधन भएका व्यक्तिहरु विदेश नगएको राम्रो भन्ने निष्कर्ष निक्लदै छ । विद्यार्थी र अभिभावक आफ्नो आर्थीक अवस्था र भविष्यमा भैपरी आउन सक्ने समस्याहरुको बारेमा सचेत रहनु आवश्यक छ । काम गर्न सक्छु कि सक्दिन, कति घण्टा पाउँछु । काम नपाएको खण्डमा खर्च कसरी पुर्याउने ? यावत कुराहरुको विचार गर्नु जरुरी छ । विदेश जाने विषय हतारमा रहरमा अर्काले भनेर लहडमा चल्ने विषय होइनन् । पठाउने अभिभावक र जाने विद्यार्थी दुवै उत्तिकै सजक रहन जरुरी छ । परामर्श दातृले दिएका सल्लाह सुझाव पनि इन्टरनेटमा खोजेर या त्यहाँ भएका साथीहरुसँग बुझेर मात्र निर्णय लिनु उचित हुन्छ ।”

विद्यार्थी सँगसँगै नवआगन्तुकहरूलाई पनि उनी जिम्मेवारी बुझेर मात्रै अगि बढ्न सल्लाह दिन्छन्, “वैदेशिक परामर्श क्षेत्रमा सहयात्री बन्न चाहने हरूकाे लागि विगत १५ वर्षदेखि यस क्षेत्रमा कार्यरत भएको नाताले यस क्षेत्रलाई सहज छ म भन्दिन । विद्यार्थीको भविष्य र अभिभावककोसँग जोडिएको विषय हो । हाम्रो सानो गल्तीले विद्यार्थीको भविष्य खतरामा पर्न सक्छ । अत्यन्त संवेदनशिल भएर काम गर्नुपर्छ । त्यसैले यहाँ आउनु अगावै यस क्षेत्रको बारेमा पर्याप्त अध्ययन गरेर, आफूलाई खारेर, सेवा दिन सकिन्छ सकिदैन निर्क्याैल गर्नुपर्छ । आइसकेपछि पनि विभिन्न अन्तराष्ट्रिय कोर्सहर लिएर समय अनुरुप आफूलाई अपडेट राख्नुपर्दछ । नेपालमा पनि टिआइ टिआइ भन्ने दश दिने कोर्श तयार पारेको छ त्यसमा सहभागी भएर पढेर जानेर सिकेर मात्रै यस क्षेत्रमा पाइला चाल्न अनुरोध गर्दछु ।”

कुराकानीकाे अन्त्यमा उनकाे भनाई यस्तो रह्यो, जहाँसुकै रहेर पनि नेपाली विद्यार्थीले शिक्षा प्राप्त गर्न पाउनुपर्छ भन्ने इक्यानकाे प्रमुख मान्यता रहेकाे उनी बताउँछन्, “मुख्य विषय नेपालमा होस् या विदेशमा नेपालीहरुले राम्रो शिक्षा हाँसिल गर्न पाउनु पर्छ । शिक्षा सँगसँगै त्यसपछिको रोजगार पनि उत्तिकै अपरिहार्य छ । यस्ता अवसरले उनीहरुलाई दक्ष जनशक्तिमा रुपान्तरण गर्दछ । योग्य भैसकेपछि प्रतक्ष्य अप्रतक्ष्य रुपमा देशलाई योगदान दिने विषय छँदैछ । सकेसम्म सबै नेपाली नेपाल फर्कौ, नेपालीले नगरेसम्म यो देश बन्दैन । देशका कुनै नेता कर्मचारीले देश बनाउला र फर्कौला सोचेर मात्रै देश बन्न सम्भव छैन । त्यहाँभन्दा माथि उठेर हामीले सोच्न जरुरी छ । साना ठूला विषयमा हामी राज्यप्रति कति उत्तरदायी छौं भनेर सोच्न जरुरी छ । फेरीपनि भन्छु, देशले मलाई के दियो भन्दा सँधै मैले देशलाई के दिएँ भनेर आँफैले आफूलाई प्रश्न गर्ने गरौं देश एक दिन अवश्य समृद्ध बन्नेछ । नेपालमा रहँदा होस् या विदेशमा सभ्य नागरीक बन्ने कोशिश गरौं । हाम्रा सामान्य कदमले राज्यलाई कति प्रभाव पार्नसक्छ सोचौं ।”

Like Share on Social media
  •  
  •  
  •  
  •  

घटना लुकाउन मिलापत्र,पीडितलाई थप पीडा