समानुपातिक मतगणना अन्तिम चरणमा

काठमाडौँ।

फागुन २७ गते,

प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले इलाम-१ र गोरखा-१ मा जारी समानुपातिकतर्फको गणना अन्तिम चरणमा पुगेको जनाएको छ ।

मतगणनाको पछिल्लो परिणामअनुसार प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले समानुपातिकमा ५१ लाख ३६ हजार ६७४ मत पाएको छ । प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिएको नेपाली काँग्रेसले १७ लाख ४८ हजार ३३६, ९ सिटमा झरेको नेकपा एमालेले १४ लाख ४८ हजार ४१२ मत समानुपातिकतर्फ पाएको आयोगले जनाएको छ ।

यस्तै प्रत्यक्षतर्फ सात सिटसहित चौथौँ भएको नेपाली कम्युनिस्ट पार्टीले आठ लाख चार हजार १७१ मत पाएको छ । पाँचौँ भएको श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ५८७ मत पाउँदा छैटौँ स्थानमा रहेर थ्रेसहोल्ड कटाएको राप्रपाले तीन लाख ७४ हजार ३१४ मत ल्याएको छ ।

समानुपातिकतर्फ हालसम्म एक करोड सात लाख ३२ हजार ९३२ मतहरू गणना भइसकेका छन् । प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै आइसकेको छ ।