निवर्तमान सांसद दीपकबहादुर सिंहले सकेनन् जमानत जोगाउन
काठमाडौँ
फागुन २६ गते,
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवारलाई हराउँदै मकवानपुर–१ बाट विजयी भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता दीपकबहादुर सिंह यसपटक भने जमानतसमेत जोगाउन असफल भएका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिंहले चार हजार पाँच सय ७४ मत मात्रै प्राप्त गरेका छन् । कुल सदर मतको १० प्रतिशतभन्दा कम मत पाएपछि उनको जमानत जफत भएको हो ।
यसपटक मकवापनुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतम विजयी भएका छन् भने नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना १४ हजार मतसहित दोस्रो भएकी छन् । यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिंहले सत्ता गठबन्धनको साझा उम्मेदवार बनेकी कांग्रेसकी डिनालाई नै पराजित गर्दै पहिलोपटक संसद् यात्रा तय गरेका थिए । उनले २७ हजार ८१६ मत प्राप्त गर्दा डिनाले २५ हजार ४३४ मत पाएकी थिइन् । सिंहले डिनालाई २ हजार ३८२ मतान्तरले हराएका थिए ।
तर, यसपटकको निर्वाचनमा मत परिणाम नाटकीय रूपमा फेरिएको छ । प्रत्यक्षतर्फ कुल ९५ हजार ३१० मत खसेको मकवानपुर १ मा ४ हजार ८०१ मत बदर हुँदा ९० हजार ५०९ मत सदर भएको थियो । निर्वाचन कानुनअनुसार जमानत जोगाउन उम्मेदवारले कम्तीमा सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । सो आधारमा यस क्षेत्रमा जमानत जोगाउन उम्मेदवारलाई ९ हजार ५० मत आवश्यक थियो । तर सिंहले पाँच हजार मत पनि कटाउन सकेनन् । उनले जम्मा ४ हजार ५७४ मत मात्रै ल्याए ।
