भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री राजकुमार गुप्तालाई थुना पठाउन विशेष अदालतको आदेश 

काठमाडौँ 

पुष १७ गते,

पोखराको लिचीबारी जग्गा भ्रष्टाचार मुद्दाका प्रतिवादी पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतले आदेश गरेको छ । विशेष अदालतका सदस्यहरू सुदर्शनदेव भट्ट, डिल्लीराज श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार गुप्तालाई थुनामा पठाउने आदेश गरेको हो । 

पोखराको बाटुलेचौरस्थित लिचीबारी जग्गा प्रकरणमा ७८ लाख रुपैयाँ घुस लेनदेन भएको ठहर गर्दै अख्तियारले पूर्वसामान्य प्रशासनमन्त्री गुप्ता र तत्कालीन भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठलाई प्रमुख प्रतिवादी कायम गरेर अन्य पाँच बिचौलियाविरुद्धसमेत घुस रिसवत लिई भ्रष्टाचार गरेको कसुरमा गत २२ असोजमा मुद्दा चलाएको थियो ।

यस मुद्दामा गुप्ताविरुद्ध ७८ लाख नै बिगो र ६ देखि आठ वर्षसम्मको कैद सजाय अख्तियारले मागदाबी गरेको छ । विशिष्ट पदाधिकारीका रूपमा थप तीन वर्षको कैद सजाय पनि अख्तियारले दाबी गरेको छ । मुद्दाको थुनछेक बहसपछि गुप्तालाई थुनामा पठाउने आदेश विशेषले गरेको हो ।