लहानमा १७५ जनाको आँखा जाँच्दा ५८ मा मोतियाविन्दु
काठमाडौँ
मङ्सिर १५ गते,
सिराहाको लहानमा १७५ व्यक्तिको आँखा जाँच गर्दा ५८ जनामा मोतियाविन्दु देखिएको छ । लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा स्थानीय विपन्नहरूको निःशुल्क आँखा उपचार अभियान चलाएकोमा अधिकांशमा मोतियाविन्दुको पहिचान भएको हो ।
अभियानमा मोतियाविन्दुको निःशुल्क शल्यक्रियासमेत गरिएको छ । आँखा जाँच गर्दा अन्य समस्या भएका बिरामीलाई औषधि, चस्मालगायत निःशुल्क उपलब्ध गराइएको छ । नगरका विभिन्न क्षेत्रमा चरणबद्ध रूपमा आँखा शिविर सञ्चालन गरिँदै आएकोमा शनिबार वडा नं. २० को ब्रह्मणगौछाडी र वडा नं. २१ को कालाबञ्जरमा शिविर चलाइएको थियो ।
सगरमाथा चौधरी आँखा अस्पतालका शिविर संयोजक राजकुमार यादवका अनुसार शनिबारको शिविरमा आँखा जाँच गराएका १७५ मध्ये ५८ मा मोतियाविन्दु पहिचान भएको हो । ‘मोतियाविन्दु पहिचान भएका बिरामीलाई नगरबसबाट अस्पतालसम्म पु¥याउने र शल्यक्रियापछि पुनः गाउँमा फर्काउने व्यवस्था मिलाइएको थियो,’ उनले भने । शल्यक्रिया गरिएका बिरामीको प्रतिव्यक्ति पाँचदेखि १० हजार खर्च नगरपालिकाले व्यहोर्ने भएको छ ।
