निर्वाचनको लागि थपिए मतदान स्थल

काठमाडौँ

मङ्सिर १५ गते,

आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि देशैभर १६८  मतदान स्थल थपिएका छन् । मतदाताको पहुँचलाई सरल, सहज र व्यवस्थित बनाउन मतदान स्थल थपिएका हुन् । 

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अपायक परेका, जीर्ण भएका वा प्रयोगमा नआएका ९३ मतदान स्थल खारेज गरिएको छ । उहाँले भन्नुभयो, “आगामी निर्वाचनमा खारेज भएका मतदान स्थल घटाउँदा कुल मतदान स्थलमा ७५ स्थलमात्रै थपिने भए ।” आगामी निर्वाचनमा नयाँ पुराना मतदान स्थल गरी १० हजार ८९२ मतदान स्थल हुने उहाँले बताउनुभयो । कुन जिल्लामा कति मतदान स्थल थपिए भन्ने विस्तृत विवरण विस्तारै सार्वजनिक हुने उहाँले बताउनुभयो । 

आयोगले मतदान स्थल थपेपछि मतदातालाई मतदान गर्न थप सहज हुने उहाँको भनाई छ । “मतदानस्थल पुनरवलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आँशिक वा सबै मतदातालाई स्थानान्तरण गर्ने, मतदातालाई साविककै अर्को मतदानस्थलमा समायोजन गर्नेलगायत कार्य सम्पन्न गरिएको छ”, उहाँले भन्नुभयो, “मतदानस्थल पुनरवलोकन कार्यमा स्थानीय तहका वडा, जिल्ला र केन्द्रीय समितिहरू तथा सबै राजनीतिक दल र सरोकारवालाले समन्वय र सहयोग गर्नुभयो ।”