निर्वाचनलाई लक्षित गर्दै धादिङमा सुरक्षा तयारीलाई प्राथमिकता
धादिङबेंसी
मङ्सिर ५ गते,
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै धादिङमा सुरक्षा तयारीलाई प्राथमिकतासाथ अघि बढाइएको छ । जिल्ला निर्वाचन कार्यालयदेखि सुरक्षा निकायसम्म सबै संयन्त्र सव्रिmय रूपमा परिचालित भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयले मतदान स्थल तथा मतदान केन्द्रको पुनरवलोकन, हेरफेर र सिफारिस प्रव्रिmयालाई अघि बढाएको छ । जिल्ला निर्वाचन अधिकारी शिव गुरुङका अनुसार सबै स्थानीय तहका वडामा पत्राचार गरेर आवश्यक सिफारिस सङ्कलन गरिएपछि नीलकण्ठ नगरपालिका–६ का मतदान केन्द्रसम्बन्धी सिफारिस आयोगसमक्ष पठाइएको छ ।
हाल जिल्लामा ३०३ मतदान केन्द्र र ११४ मतदान स्थल रहेको छ । उत्तरी धादिङका रुबीभ्याली र खनियाँबास गाउँपालिकामा भौगोलिक कठिनाइ, ढुवानी चुनौती तथा जोखिम मूल्याङ्कनका लागि विशेष निरीक्षण गरिएको छ । “पहिलेदेखिका स्थान नै सम्भाव्य देखिएका छन्, नयाँ ठाउँमा सार्ने अवस्था छैन,” निर्वाचन अधिकारी गुरुङले भन्नुभयो ।
निर्वाचन सुरक्षासम्बन्धी विषयमा जिल्ला सुरक्षा समितिले जिल्लाभरका संवेदनशील तथा अति संवेदनशील मतदानस्थल पहिचान गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी भेषराज रिजालका अनुसार निर्वाचन सुरक्षा नीति, २०८२ प्राप्त भइसकेकाले उक्त नीति अनुसार विस्तृत सुरक्षा योजना बनाउने तयारी जारी छ ।
गत निर्वाचनमा घटना घटेका तथा जोखिम क्षेत्रको विश्लेषण गरेर सुरक्षा रणनीति परिमार्जन भइरहेको उहाँको भनाइ छ । जिल्लामा छ वटा संवेदनशील र १०८ वटा अति संवेदनशील मतदान केन्द्र रहेकोे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सुरक्षा व्यवस्थापनका लागि यस पटक दुई हजार आठ जना म्यादी प्रहरी र ८९२ जना नेपाल प्रहरी आवश्यक पर्ने प्रहरी प्रमुख एसपी भेषराज रिजालले बताउनुभयो ।
हाल निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता, त्रुटि सच्याउने, विवरण परिवर्तन तथा स्थानान्तरणका काम नियमित रूपमा भइरहेको छ । असोज ९ देखि अहिलेसम्म दुई हजार नयाँ मतदाता दर्ता भएका छन् । ६७ जनाले बाहिरी जिल्लामा मतदान केन्द्र तोकेको कार्यालयले जनाएको छ । हालसम्म ‘कम्युनिस्ट पार्टी नेपाल’ को सनाखत धादिङबाट गरिएको छ भने अन्य प्रक्रिया जारी रहेको गुरुङले बताउनुभयो ।
