निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस

काठमाडौँ

मंसिर ४ गते,

बिहीबार सिंहदरवारस्थित राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले देशको पछिल्लो सुरक्षा अवस्था र त्यसले पार्न सक्ने सम्भावित चुनौतीबारे छलफल गरेको छ । बुधबार र बिहीबार मात्रै बाराको सिमरामा देखिएको जेन जेड र नेकपा एमालेबीचको झडप, त्यसबाट उत्पन्न परिस्थित र समग्र देशको पछिल्लो सुरक्षा अवस्थाबारे परिषद्‌मा छलफल भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको ४१ औँ बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, रक्षा सचिव सुमनराज अर्याल सहभागी थिए । बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने चुनौती तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा देखा परेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभावबारे छलफल भएको रक्षा सचिव अर्यालले बताए ।

यस्ता चुनौतीहरूको सामना गर्न अपनाउनुपर्ने रणनीतिबारे पनि छलफल भएको बताइएको छ । त्यस्तै बैठकले परिषद्को आठौँ वार्षिक प्रतिवेदनको मस्यौदामाथि समेत छलफल गरेको छ । मस्यौदालाई आवश्यक संशोधनसहित स्वीकृत गरी राष्ट्रपति समक्ष पेश गर्ने निर्णय बैठकले गरेको रक्षा सचिव अर्यालले बताए ।

त्यस्तै निर्वाचनका लागि सेना परिचालन गर्न सरकार समक्ष पेश गर्ने पनि निर्णय बैठकले गरेको छ । बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सेना परिचालन गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सेना परिचालन गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय भएको रक्षा सचिव अर्यालले बताए ।