तीव्र गतिको इन्टरनेटका लागि काठमाडौं महानगरपालिकाबाट नेपाल टेलिकमसँग सम्झौता
काठमाडौं
कार्तिक २१ गते,
स्वास्थ्य प्रवर्धन केन्द्र, वडा कार्यालय र अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट फाइबर टू द होम – एफटिटिएच जडान गर्न काठमाडौं महानगरपालिकाले नेपाल टेलिकमसँग सम्झौता गरेको छ।
शुक्रबार महानगरपालिकाको केन्द्रीय कार्यालय, काठमाडौं प्लाजामा भएको सम्झौतामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, बागमती प्रदेशका निर्देशक इन्दल यादवले हस्ताक्षर गरेका हुन्।
यसअघि वडामा २० एमबिपिएस क्षमताको लिज लाइन लिइएको थियो। यसको लागत धेरै थियो। अहिलेको लागत कम र क्षमता धेरै भएको विभागका प्रमुख अनिरुद्र नेपालले जानकारी दिए। अहिले जडान गरिएको इन्टरनेट सेवाको भारका आधारमा केन्द्रहरूमा १ जिबिपिएस बेसिक र प्रिमियम तथा ५ सय एमबिपिएस क्षमताको इन्टरनेट जडान गरिएको छ।
यो सेवा २४ सै घण्टा उपलब्ध हुनेछ। यो सम्झौता २०८३ साउन मसान्तसम्मका लागि हो।
यो इन्टरनेट ३२ वटा वडा कार्यालय, २४ वटा स्वास्थ्य प्रवर्धन केन्द्र, बागदरबार, टेकु ट्रान्सफर स्टेसन, महानगर प्रहरी बल, पूर्व क्षेत्र, बानेश्वर, बग्गीखाना, बसपार्क, सोह्रखुट्टे र कार्यान्वयन एकाइ, बारुण यन्त्र कार्यालय नयाँ सडक, बालाजु र रामहिटी बौद्ध, हनुमानढोका दरबार संरक्षण कार्यक्रम, रानीपोखरी, वसन्तपुर, बालाजु पार्क, शंखपार्क गरी ७१ सेवा केन्द्रका लागि खरिद गरिएको हो।
