विश्वासको मत पाउने नदेखेपछि मधेश प्रदेशका मुख्यमन्त्री सोनलले दिए राजीनामा
जनकपुर
कार्तिक २१ गते,
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन् । प्रदेश सभामा विश्वासको मत सिद्ध गर्न नसक्ने अवस्था देखेपछि उनले राजीनामा दिएका हुन् ।
पूर्व घोषित कार्यक्रमअनुसार आज मुख्यमन्त्री सोनलले विश्वासको मत लिने कार्यसुची थियो । विश्वासको मत दिने भनिएका माओवादी केन्द्रका केही सांसदले विश्वासको मत नदिने भन्दै सभामा विद्रोह गरेपछि सरकारको लागि चाहिने आवश्यक ५४ मत पक्षमा पुग्ने अवस्था नदेखेपछि मुख्यमन्त्री सोनलले राजीनामा दिने घोषणा गरेका हुन् ।
जनमत पार्टीबाट विभाजित भएका जनस्वराज पार्टीका निर्वतमान मुख्यमन्त्री सतिश सिंह र त्रिभुवन साह पनि सभाको वैठकमा अनुपस्थित रहेका थिए । त्यसैगरी, विश्वासको मत दिने भनिएका नेपाल संघीय समाजवादी पार्टीकी सांसद विमला अन्सारी पनि आज सभाको बैठकमा अनुपस्थित रहेकी थिइन् । मधेश प्रदेश सभामा १०७ सदस्य छन् । विश्वासकाे मतका लागि ५४ मत आवश्यक पर्छ ।
