प्रधानमन्त्रीको नेतृत्वमा सुरक्षा चुनौतीबारे छलफल, सरकारले सबै पक्षसँग संवाद गर्ने
काठमाडौँ
कार्तिक ९ गते,
छठपछि केही समूहले आन्दोलन गर्ने तयारी गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले चारै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी छिन् । शनिबार बिहान करिब दुई घण्टा प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा घुसपैठको जोखिम भएकाले आन्दोलनका गतिविधि रोक्नुपर्नेमा सुरक्षा प्रमुखहरूले जोड दिएका छन् ।
दुर्गा प्रसाईंलगायत केही समूहले आन्दोलनको तयारी गरेपछि सो छलफल भएको हो । आन्दोलनमा लाग्नेहरूसँग वार्ताका लागि जोड दिइएको छ । सोहीअनुुसार गृहमन्त्री ओमप्रकाश अर्यालले प्रसाईंलगायतलाई छलफलका लागि बोलाएका छन् ।
‘सकेसम्म सम्झाउने, नभए सशक्त रूपमा कारबाही अघि बढाउनुपर्ने विषय सबैको छ,’ गृह मन्त्रालय स्रोत भन्छ, ‘सरकार त्यही सुरक्षा रणनीतिअनुसार अघि बढ्छ ।’ आन्दोलनमा घुसपैठको उच्च जोखिम रहेको तथा यसले निर्वाचनको वातावरणसमेत बिथोल्ने भएकाले आन्दोलन तथा प्रदर्शन रोकेर संवाद र वार्ता अघि बढाउने रणनीति तय गरिएको स्रोत बताउँछ । छलफलमा गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दंगाललगायत सहभागी थिए ।
बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेको र सम्भावित सुरक्षा चुनौतीका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकपछि प्रतिक्रिया दिँदै गृहमन्त्री ओमप्रकाश अर्यालले सबैलाई संवादबाटै अघि बढ्न आग्रह गरे । ‘सुरक्षा अवस्थाबारे सूक्ष्म विश्लेषण गरेका छौँ । विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन्,’ उनले भने, ‘आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन् । राजनीतिक मुद्दाको सम्बोधनका लागि संवादको ढोका खुला राखेका छौँ । सम्बद्ध पक्षहरूसँग वार्ता गर्छौँ । संवादबाटै समस्याको समाधान चाहन्छौँ ।’ अहिलेको अवस्थालाई विचार गरी जिम्मेवार ढंगले प्रस्तुत हुन उनले सबै पक्षलाई आग्रह गरेका छन् ।
