साना होटेल रेस्टुरेन्ट व्यवसायमा महानगरको अनुगमन
काठमाडौँ
असोज ३० गते,
काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले नयाँ बानेश्वर क्षेत्रमा रहेका साना होटेल तथा रेस्टुरेन्ट व्यवसायमा अनुगमन गरेको छ। अनुगमनका क्रममा अधिकांश व्यवसाय मापदण्डविपरीत सञ्चालनमा रहेका थिए। अनुगमन व्यवसायीलाई तर्साउने उद्देश्यले नभई, स्वच्छ र जिम्मेवार व्यवसाय सञ्चालनका लागि हौसला दिने उद्देश्यले गरिएको बताइएको छ। अटेर गरेमा भने कानुनबमोजिम कारबाही गर्ने महानगरले चेतावनी दिएको छ । विशेषगरी भान्छाको सरसफाइमा पूर्ण बेवास्ता गरिएको पाइएको छ।
काठमाडौं महानगरपालिका कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख नूरनिधि न्यौपानेका अनुसार संक्रमण सानो लापरबाहीबाट पनि फैलिन सक्ने भएकाले सरसफाइमा ध्यान दिनु व्यवसायीकै हितमा पर्छ। उनले भने, ‘महानगर अनुगमन गरेर व्यवसायीलाई तर्साउन चाहँदैन, सबैले आफ्नो कर्तव्य र जिम्मेवारी नबिर्सौँ, सरसफाइमा ध्यान दिनु उपभोक्ता र व्यवसायी दुवैको फाइदाको कुरा हो।’
उनका अनुसार महानगरले उपभोक्ताको हितका लागि खाद्य स्वच्छता कायम राख्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोझै कारबाहीमा जानुभन्दा पहिले व्यवसायीलाई तालिम दिने, सम्झाउने र सचेत गराउने कार्य भइरहेका छन्। त्यति गर्दा पनि सुधार नआए कानुनबमोजिम कारबाही गर्नुपर्ने अवस्था आउँछ।
त्यस्तै, काठमाडौँ महानगरपालिका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका सल्लाहकार सन्तोष गिरीका अनुसार महानगरले सशक्तीकरण, अनुगमन र नियमनलाई अहिले प्राथमिकता दिएको छ। उनी भन्छन्, ‘हामी बजारमा कस्तो अवस्था छ भनेर बुझ्दै छौँ, व्यवसायीहरू खाद्य स्वच्छता र गुणस्तरीयतामा कत्तिको सचेत हुनुहुन्छ भनेर मूल्यांकन गर्दै छौँ। राम्रो गर्नेलाई हौसला दिन्छौँ, कमजोरी देखिए सम्झाउँछौँ, सचेत गराउँछौँ ! त्यति गर्दा पनि अटेर गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ।’ उनका अनुसार महानगरको मुख्य उद्देश्य व्यवसायीले स्वच्छ रूपमा व्यवसाय सञ्चालन गर्नु र उपभोक्ताले आफ्नो मूल्यअनुसारको गुणस्तरीय खाद्यवस्तु पाउनु हो।
