प्रधानमन्त्रीको युवराज मोह पछाडिको रहस्य के ?


देशमा यति बेला राजनैतिक सरगर्मी बढेको छ । २०७७/०९/५ गते अप्रत्यासित रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरे सँगै राजनैतिक चर्चापरिचर्चा अनेक आयामबाट अघि बढेको छ ।

आमसर्वसाधारणलाई समेत पछिल्लो राजनैतिक घटनाक्रमले तताएको अवस्था छ । कोराना कहर र राजनैतिक अस्थिरताले गर्दा अर्थतन्त्र, कर्मचारीतन्त्र, कृषि, पर्यटन, स्वास्थ, शिक्षा, खेलकुद लगाएत सबै क्षेत्र अस्तव्यस्त छ तर यी सबैको बीचमा पनि “दुवै हातमा लड्डु” भन्ने नेपाली उखानलाई चरित्रार्थ गर्दै युवराज खतिवडाले भने एकपछि अर्को राजनैतिक नियुक्ति भटाभट खाँदै छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिय पात्रको छवि बनाएका खतिवडाप्रतिको प्रधानमन्त्रीको विशेष मोहको रहस्य के ? नेपाली राजनैतिक परिदृश्यमा बडो रोचक तवरले यो विषयको उठान हुने गरेको छ । पछिल्लो समय पुष ७ गते राष्ट्रपतिबाट संयुक्त राज्य अमेरीकाको लागि नेपाली राजदुत नियुक्त भएसँगै यो विषयले थप चर्चा पाएको छ ।

यसलाई थुप्रै विश्लेषकहरुले एम.सी.सी परियोजनासँग जोडेर हेरेका छन् । करिब ५२ देशमा एम.सी.सी परियोजना लागुभएता पनि नेपालमा यो विषय विचाराधीन छ । सन् २०१२मा खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर हुँदै गर्दा देखि नेपाल र संयुक्त राज्य अमेरीकाबीच एम.सी.सी परियोजना बारे अन्तरक्रिया भएतापनि झण्डै सात वर्ष पछि खतिवडा अर्थमन्त्री भएकै बेला यो विषयले नेपाली संसद्मा प्रवेश पाएको थियो ।

एम.सी.सी परियोजना आर्थिक विकासमा केन्द्रित छ । विद्युत्‌को लाइन निर्माण र सडकको स्तरोन्नतिमार्फत आर्थिक विकासलाई सघाउने परियोजनाको लक्ष्य रहेतापनि यसमार्फत अमेरीकाले सैनिक भित्राएर नेपालको सार्वभौमसत्तासँग खेल्ने भन्दै राष्ट्रिय रुपमा मत विभाजित छ ।

यधपी सत्तारुढ दल तथा प्रमुख प्रतिपक्ष दलका शीर्ष नेता भने खुलेरै परियोजनाको पक्षमा उभिएका छन् । यो सबैको आलोकमा गैरराजनैतिक व्यक्ति युवराज खातिवडालाई राष्ट्रिय सभा सदस्य, अर्थमन्त्रीको रुपमा नियुक्ति गरिनु , मन्त्री पदबाट राजनीनामासँगै प्रधानमन्त्रीको आर्थिक सल्लाहकार मनोनित गरिनु र हाल आएर अमेरीकाको राजदुत नियुक्ति गरिनुलाई केवल भाग्य वा संयोग मात्रै मान्न सकिदैन ।

यसरी हेर्दा प्रधानमन्त्री ओली आफ्ना विश्वास पात्र खतिवडा मार्फत एम.सी.सी परियोजना कार्यान्वयन गर्न कटिवद्ध रहेको देखिन्छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •