एक महिना प्रयास गर्दा पनि नेकपालाई फुटबाट बचाउन सकेनौ

काठमाडाै । प्रतिनिधिसभा विघटनदेखि नेकपाको विवाद बढ्दै जाँदा नयाँ निर्वाचनको घोषणासम्म मुलुक प्रवेश गरेको छ ।
तर, प्रतिनिधिसभा विघटन विवादित बन्न पुगेको छ ।
संविधानको व्याख्या विपरीत विघटन भएको भन्दै यो विषय सर्वोच्च अदालतमा पुगेको छ ।
तर, यो विवादले सत्तारुढ दल नेकपा विभाजनतिर पुगेको छ । पार्टी विभाजन भएपछि नेताहरु पनि आ–आफ्नो कित्तातिर लागेका छन् ।
दुवै समूहले आफ्नोतिर भन्दै दाबी गरिरहे पनि गुट परिवर्तन गर्नेको लहर पनि सँगै देखिन थालेको छ ।
पछिल्लो समय प्रधानमन्त्री एवं नेकपाका एक अध्यक्ष केपी ओली समूहमा रहेका शेरबहादुर तामाङले बिहीबारबाट सो समूह छोडेको घोषणा गरेका छन् ।
माधव नेपाल, ओली समूह हुँदै फेरि प्रचण्ड–नेपाल समूहमा प्रवेश गरेका पूर्व मन्त्रीसमेत रहेका शेरबहादुर तामाङसँग ग्लाेबलअावाज ले गरेको कुराकानी :
तपाईंलाई पहिला माधव नेपाल निकट भनेर चिनिन्थ्यो फेरि ओली पक्षमा कहिले जानुभएको थियो ?
मेरो पार्टीभित्र जुन खालको विग्रह देखा पर्यो, यो विग्रहलाई अन्त्य गरौं भनेर नेताहरु बीचको समझदारी नेकपाको पार्टी एकताबद्ध बनाउने अभियानमा म लागे ।
अन्त्यमा नेता नेतृत्वको कारणले सफल नहुने दिशातर्फ तीव्र गतिले लाग्यो । यो हुनु हुदैन भन्ने मलाई लाग्यो ।
त्यो मान्यतामा आफ्ना दृष्टिकोणहरु राखिरहेको छु । यसै क्रममा केपी ओलीसँग भेटघाट पनि भयो । उनी आफ्नै पार्टीको अध्यक्ष र प्रधानमन्त्री हुन् ।
तर त्यो बीचमा राजनीतिक घटनाले यति तीव्र रुप लियो कि विघटन हुँदै पार्टी अलग हुने अवस्थामा पुग्यो ।
यी परिघटनाको बीचमा केपी ओलीसँगको सामिप्यता भेटघाट इ सबै हिसाबले त्यता उभिएको जस्तो देखियो । तर अहिले पनि पार्टी एकताको पक्षमा छु ।
तपाई फेरि केपी ओली किन छोड्न पुग्नुभयो त ?
केपी ओली, माधव नेपाल, प्रचण्ड अथवा अरु झलनाथ लगातका सबै हाम्रा आदरणीय नेताहरु हुन् । यी सबै नेताहरु एक ठाउँमा बस्नु जरुरी छ ।
यी नेताहरु अलग भएर मुलु्कको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने कुरामा लाग्नु हुँदैन । जो जहाँ रहे पनि एकले अर्कालाई समाप्त गर्ने हैन ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई बचाउने काममा लाग्नुपर्ने हुन्छ ।
तपाई प्रचण्डको समूहमा आउनुमा ‘सर्कल’को कारण मात्र छ की राजनीतिक कारण पनि छ ?
सैद्धान्तिक दृष्टिकोणको हिसावले धेरै व्याख्या विश्लेषणहरु आउलान् । तर अहिलेसम्म नेपाल कम्युनिष्ट पार्टी नै हो ।
अहिले दुवै पार्टी विभाजनको दिशातर्फ उन्मुख भएपनि औपचारिक रुपमा विभाजन भैसकेको छैन ।
प्रतिनिधिसभा विघटनपछि दुर्घटनामा एक पक्षमात्रै जिम्मेवार देखिंदैन । तपाईंचाँहि कसलाई बढी जिम्मेवार ठान्नुहुन्छ ?
एक पक्षलाई मात्र जिम्मेवार ठान्दिन । मुख्य मान्छे नै मुख्य जिम्मेवार हुन्छ । यसमा कुनै दुईमत छैन ।
तर अरु सहायक जिम्मेवारहरु पनि कम्ताका छैनन् ।
मुख्य जिम्मेवारले ‘एक्सन’ लिएपछि त्यसको परिघटना आइहाल्छ । ‘एक्सन’हरु कहाँबाट भयो त्यसको ‘रियाक्सन’ के भयो भन्ने कुराको सही विश्लेषण गर्न सक्नुपर्छ ।
वास्तवमा एजेण्डाभन्दा पनि ओली, प्रचण्ड र नेपालको स्वार्थका कारणले यो दुर्घटना भएको हो । तर युवा नेताहरुले तिमीहरुको यो स्वार्थमा हामी पार्टी फुटाउन सक्दैनौं, हामी सती जान सक्दैनौ भनेर उभिन किन नसकेका होलान् ?
राजनीतिमा यस्तो नहुँदोरहेछ । मैले यो मिलाउने क्रममा एक महिना जति मेहनत गरे । यसमा ठूलै समूह थियो ।
पार्टी नेताहरुको पछि लाग्ने, विभिन्न मनोविज्ञानले सँगै हिँडेका तलका कार्यकर्ताहरु थिए । हामीले त्यो पनि सोच्यौ ।
हामी अलग भएर कतै नलाग्नेगरी उभियौ न त भनेर छलफल पनि गर्याे । तर त्यो कस्तो हुँदो रहेछ भनेर आज देखिराख्नुभएको छ तपाईंले ।
कुनै एक टिममा उभिनैपर्ने बाध्यकारी स्थिति देखापर्ने रहेछ ।
महाधिवेशन, अधिवेशन निर्वाचनबाट फाल्ने विधि हुन्छ ।
अर्काे स्वभाविक हस्तान्तरण प्रकृया हुन्छ । यी दुईवटा विधिबाट आउँछ नेतृत्व हस्तान्तरण हुने हो ।
अहिले नेकपाभित्र लोकतान्त्रिक निवार्चन विधि स्थापित छ ।
केपी ओलीले नेतृत्व गरेको विधि होस् अथवा प्रचण्ड, माधवले नेतृत्व गरेकोले नै किन नहोस् त्यो विधि पछ्याएनन् भने फेरि पनि पार्टीभित्र थप विग्रहहरु आउँछन् ।
तपाईंले कानुनी मामिलाबारे जानकार हुनुहनछ । कानुन मन्त्रालय चलाएको पनि अनुभव छ । अदालतसम्म पुगेको प्रतिनिधिसभा विघटनको विषय अब पुनस्थापना हुने सम्भावना कति देख्नुहुन्छ ?
यो अदालतको क्षेत्राधिकारको विषय हो । सामान्यत: संविधान संविधानका धाराहरु हेर्दा संसद विघटन हुन सक्ने अवस्थाको व्याख्या छ । त्यसैले विघटन हुनै हुँदैन भनेर उभिन सकिँदैन ।
अब चुनावमा जाँदा ओली र प्रचण्ड–नेपालको मूल एजेण्डा के होलान् ?
अस्तिको प्रतिवेदनको सार हेर्दा एउटाले हाम्रो सरकारले केही गरेन त्यसैले हामीलाई भोट देउ भन्नु पर्ने होला ।
अर्काेले हाम्रो पार्टीले सरकारलाई कुनै सहयोग गरेर फेरि भोट देउ भन्नुपर्ने होला ।
मूलतः राष्ट्र समृद्धिको र राष्ट्र निर्माणको एजेण्डा निर्माण गरेर माधव, प्रचण्ड भएपनि केपी भएपनि जनतालाई निराशा होइन आशा बाँडेर जानुपर्ने देखिन्छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्