हिमाली र उच्च पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात

 काठमाडौं । हिमाली र उच्च पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात भएको छ ।

हिमपातसँगै बढेको चिसोले जनजीवन पनि प्रभावित भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुने जनाएको छ ।

हुम्ला, डोल्पा, मुस्ताङ र उत्तरी गोरखामा हिउँ परेको छ ।

लुम्बिनी प्रदेशमा पर्ने पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका–१ दुले भन्ने स्थानमा पनि हिमपात भएको त्यहाँ रहेका दाङका पत्रकार कुलदीप न्यौपानेले जानकारी दिएका छन् ।

उपल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीमा झरेको छ ।

सडकमा सवारी साधन आवतजावत गर्न समस्या भएको छ ।

हिउँले चरन क्षेत्र पुरिएपछि स्थानीयवासीले पशुचौपायालाई गोठमै बाँधेर राख्न थालेका छन् ।

हिमाली जिल्ला मनाङको माथिल्लो क्षेत्रमा सोमबार दिउँसोबाट हिउँ परेको स्थानीयले बताएका छन् ।

हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा वर्षा तथा हिमपात भइरहेको छ ।

मुस्ताङका जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, छोसेर, कोरला, छोनुप, समजुङ, चुमजुङ, नाम्डो, चराङ, मराङलगायत बस्तीमा हिमपात भएको छ ।

हिमपातसँगै खोला, पँधेरा र धारामा पानी जमेको छ ।

मनाङ ङिस्याङ गाउँपालिका १ पिसाङका छिरिङ नेस्याङ गुरुङका अनुसार माथिल्लो क्षेत्रमा बढी र तल्लो क्षेत्रमा कम मात्रामा हिउँ परेको छ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

मनाङको शैक्षिक सत्र सुरु नै नभई सकियो