३० करोड अझै भुक्तानी नदिएपछि सरकार गुहार्न उखु किसान काठमाडौंमा

काठमाडौं । उद्योगीबाट उखुको भुक्तानी पाउन गत वर्ष काठमाडौं र सर्लाहीमा आन्दोलन गरेपछि सरकारबाट भुक्तानीको प्रतिबद्धता पाएका किसानले एक वर्षसम्म पनि रकम पाउन सकेका छैनन् ।

गत वर्ष बिक्री गरेको मात्रै होइन, त्यसअघिको समेत उखुको पैसा समयमै भुक्तानी नपाएका किसान बक्यौता उठाइदिन सरकारको सहयोग माग्दै पुनः काठमाडौं आएका छन् ।

 आइतबार करिब डेड दर्जन उखु किसानहरुले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई भेटेर उखुको बक्यौता रकम तत्काल उठाईदिन आग्रह गरे ।

करिब २० दिनमा सबै उधारो रकम पाउने आसमा गत वर्ष पुष १८ गते उद्योगमन्त्री भट्टसँगै समझदारी गरेर सिंहदरबारट निस्किएका किसान भण्डै ११ महिनापछि बुधबार पुनः उही माग लिएर उद्योग मन्त्रालय पुगे ।

केही दिनभित्र बाँकी सबै बक्यौता रकम उपलब्ध नगराएर सिंहदरबार घेर्ने चेतावनी किसानहरुले उद्योग मन्त्रीलाई स्मरण गराए ।

सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ निर्धारण गरे पनि महालक्ष्मी सुगर मिलले प्रतिक्विन्टल ४ सय ३५ रुपैयाँका दरले भुक्तानी दिएको संघर्ष समितिका सचिव रायले गुनासो गरे ।

सो मूल्यमा प्रतिक्विन्टल ६५ रुपैयाँ सरकारले सोझै किसानलाई अनुदान उपलब्ध गराउने नीति लिएको छ ।

जसकारण उद्योगीले ४ सय ७१ रुपैयाँ प्रतिक्विन्टल किसानलाई भुक्तानी गर्नुपर्ने हुन्छ । तर, महालक्ष्मीले ०७५ मा समेत ४ सय ३५ रुपैयाँ प्रतिक्विन्टलका दरले जबर्जस्ती भुक्तानी प्रक्रिया अघि बढाएको थियो ।

पहिलो वर्ष जबर्जस्ती गरेको उद्योगले दोस्रो वर्षसमेत तोकिएभन्दा प्रतिक्विन्टल ३६ रुपैयाँ सस्तो दरमा उखुको भुक्तानी दिएको रायले बताए ।

‘सबै उद्योगले ४ सय ७१ रुपैयाँ प्रतिक्विन्टलका दरले भुक्तानी दिएका छन्,’ उनले भने, ‘महालक्ष्मीले चाहिँ ४ सय ३५ रुपैयाँका दरले मात्र भुक्तानी दिएको कुरा मान्य हुँदैन ।’

मन्त्रालयले यथेष्ट पहल नगरे मंसिर २७ गतेदेखि आन्दोलन थाल्ने किसानहरुले बुझाएको स्मरण पत्रमा भनिएको छ । उनीहरुले कोरोनाले मर्नु र भोक तथा ऋणले मर्नुको परिमाण एउटै भएकाले अब निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

‘कोरोनाले मर्नु र भोकसँगै ऋणले मर्नु परिणाम एउटै आउने भएकाले हामी निर्णायक आन्दोलन गछौँ,’ मन्त्री भट्टलाई बुझाइएको स्मरण पत्रमा भनिएको छ ।

मन्त्री भट्टसँग भएको छलफलबाट रकम उठ्ने प्रतिबद्धता आएको भएपनि कार्यन्वनयन अझै शंकाको घेरामा रहेको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।

‘गृह मन्त्रालयमार्फत सम्पर्क बाहिर रहेका उद्योगी खोज्न मन्त्रालय लागिपरेको र जाय जेथा बिक्री गरेरै भएपनि किसानलाई पैसा दिलाउने प्रतिबद्धता मन्त्रीज्यूले गर्नु भएको छ,’ मिश्रले भने ।

आन्दोलन गरेर माहोल बिगार्नुभन्दा पनि कानुनी ढंगबाट रकम दिलाइदिन मन्त्रालयले हरसम्भव प्रयास गर्ने आश्वासन मन्त्री भट्टले दिएको उनले बताए ।

रकम फिर्ता दिलाउन समितिले दिएको समयसीमासम्म  किसानले धैर्य गर्ने पनि मिश्रले बताए ।

उखु किसानकोको पैसा नतिर्ने उद्योगी सम्पर्कमा ल्याई दिन मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको र कानुनी उपचार गरेरै भएपनि किसानको बक्यौता दिलाई दिने उद्योग वाािण्ज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बताए ।

मन्त्रालयले किसानसँग गरेको समझदारीअनुसार माघ ६ गतेसम्म महालक्ष्मी सुगर मिलले ११ करोड ५० लाख, अन्नपूर्णले ३ करोड ९० लाख र इन्दिरा सुगर मिलले ७४ लाख रुपैयाँ भुक्तानी गरेको विवरण मन्त्रालयसँग छ ।

इन्दिरा र अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल हुन् भने महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनोडिया हुन् ।

उक्त भुक्तानीपछि  इन्दिरा र अन्नपूर्णले किसानलाई २१ करोड ३८ लाख तथा महालक्ष्मी सुगर मिलले १० करोड ९० लाख रुपैयाँ र गोल्छा समूहले सञ्चालन गरेको श्रीराम सुगर मिलले २७ करोड रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

सरकारसँग भएको सहमतिपछि लकडाउन अवधिमा पनि १७ करोड रुपैयाँ किसानलाई उक्तानी गरिएको अन्नपूर्ण र इन्दीरा सुगर मिलको दाबी छ ।

‘सरकारले बैंक खाता रोकिदिएको, मिलमा रहेको चिनी तथा मौलासिस बिक्री गर्न नपाएको भएपनि सकेजति भुक्तानी गरिरहेको सञ्चालक राकेश अग्रवालले बताए । लकडाउने सबै व्यवसायमा असर पर्दा पनि दशैंअघि एक करोड रूपैयाँ किसानलाई भुक्तानी गरेको, तिहारअघि दुई करोड रुपैयाँ भुक्तानी पठाउने तयारी गरिरहेको अग्रवालले बताए ।

महालक्ष्मी सुगर मिलले पनि किसानको सबै बक्यौता तिरेको जनाएको छ । किसानको बाँकी ११ करोड बक्यौता रकम तिरेर मिल पुनः सञ्चालनका लागि मर्मत गरिरहेको उद्योगले जनाएको छ ।

जग्गा बिक्री गरेर किसानको भुक्तानी तिर्छु भनेको श्रीराम सुगर मिलको बक्यौता भने जस्ताको त्यस्तै छ ।

किसानलाई तिर्न बाँकी २७ करोड रुपैयाँ बक्यौतामा कुनै घटबढ भएको छैन् ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

२४ घण्टामा १ हजार ७०३ सङ्क्रमित थपिए

कोरोना संक्रमितको चितवनमा मृत्यु