२१ वर्षे नेपाली प्रदीप खड्का माल्दिभ्समा टेनिस प्रशिक्षक

काठमाडाै । भर्खरै २१ मा टेकेका प्रदीप खड्का यतिबेला माल्दिभ्समा प्रशिक्षक छन् ।

उमेर सानै छ । तर जिम्मेवारी भने ठूलो ।

एक वर्षे सम्झौता अनुसार दसैं लगत्तै उनी माल्दिभ्स उडेका हुन् ।

माल्दिभ्समा प्रशिक्षणको अवसर भने नेपालका पूर्व नम्बर एक टेनिस खेलाडी कुमार अधिकारीले मिलाईदिएका हुन् ।

उनले माल्दिभ्समा टेनिस प्रशिक्षण गराउँछन् ।

अधिकारी माल्दिभ्सको टेनिस प्रशिक्षक बनेर इण्डोनेशियामा आयोजित १८ औं एशियन गेम्समा माल्दिभ्सको टिम लिएर गएका थिए ।

अधिकारी र खड्का दुवै पोखराका हुन् ।

पोखराको पस्र्याङस्थित टेनिस कोर्टबाट करियर शुरु गरेका थिए ।

खड्काले टेनिसको र्याकेट समातेको १३ वर्ष पुग्यो। ८ वर्षकै उमेरमा पस्र्याङस्थित टेनिस कोर्टबाट टेनिसमा भविष्य कोर्न अठोट लिए ।

शुरुवात गरे बल टिप्ने काम ।

सानै उमेर भएपनि टेनिस खेल्ने हुटहुटी थियो ।

अग्रजले दिएको टेनिस र्याकेट समाउँदै बल सर्भिस हाने ।

‘पस्र्याङस्थित कोर्टबाटै टेनिस प्रारम्भ भयो ।

’ खड्का विगत सम्झन्छन्–‘दाइहरु खेले र पुरस्कार थापेको देख्दा आफूलाई पनि भित्रै मनदेखि खेल्न पाए हुन्थ्यो भन्ने थियो ।’

टेनिस कोर्ट कास्की जिल्ला टेनिस संघका निर्वतमान अध्यक्ष विनोद कायस्थले निर्माण गरेका थिए ।

ऋाफ्नै जग्गामा दुईवटा कोर्ट निर्माण गरेर टेनिसको गतिविधिलाई विस्तार गरेका थिए ।

पछि पोखरा रंगशालाभित्र टेनिस कोर्ट निर्माणपछि पस्र्याङ कोर्ट पूर्ण रुपमा बन्द गरिएको थियो ।  

‘विनोद कायस्थ सरले नै टेनिसको र्याकेट दिएपछि खेल्न थाले’ पुरानो यादहरु उनको मष्तिस्कमा ताजै छ ।

खड्कालाई टेनिस खेल्न प्रेरित गर्ने मुख्य काम भने हङकङ बस्दै आएका विकास गुरुङले गरे ।

उनीसँगै विकास थापा, विनोद गुरुङ युवराज गुरुङले गरेको सहयोगलाई पनि उनले सम्झिन भ्याए ।

पहिलो पटक यु–१४ मा कास्य पदक जित्दा उनलाई सबैथोक पाए जस्तो अनुभूति भएको थियो ।

कास्य पदक जित्दा उनलाई हौसला दिदैं निशान्त गुरुङले नयाँ र्याकेट उपहार दिदाँको क्षण पनि ताजै छ ।  

उनलाई टेनिस सिकाउने काम भने प्रशिक्षक निरज थापाले गरे ।

पोखरा रंगशालामा उनै थापाले नियमित रुपमा प्रशिक्षण गराउँदै खारिएका खड्का अहिले माल्दिभ्समा प्रशिक्षण गराउन उद्दत छन् ।

कडा मेहनत र प्रशिक्षणले मात्रै उचाईमा पुगिन्छ ।

खड्का नेपालका शीर्ष बरियताका खेलाडी समेत हुन् ।

नेपाली टेनिसकै इतिहासमा पहिलो पटक टिम इभेण्टमा कास्य पदक जित्दा खड्का नेपाली राष्ट्रिय जर्सी लगाएका थिए ।

काठमाडौंमा भएको खेलमा पाकिस्तानसँग पराजित हुदैं तेस्रो स्थानमा नेपाली टिम खुम्चिन पुग्यो ।  

माल्दिभ्समा उनले दैनिक ५ घण्टा प्रशिक्षण गराउँछन् ।

‘कोभिड–१९ ले असर गरेको छ ।

खेलाडीहरुसँगै खेलेर सिकाउँदै छु’ उनी भन्छन–‘११ जना छन् ।

कोभिड–१९ कै कारण कम छन्।’ मासिक तलब ७ सय डलर छ ।

सबै खाले खेलाडीलाई प्रशिक्षण गराउँछन् ।

राष्ट्रियस्तरको खेलाडीलाई कुमार अधिकारीले प्रशिक्षण गराउँछन् ।

एकवर्षे सम्झौतासँगै खड्काले माल्दिभ्सका खेलाडीलाई प्रशिक्षण गराउने मात्रै नभई अधिकारीसँग आफैं पनि प्रशिक्षण गर्न व्यस्त छन् ।  

बलब्वाईबाट माथि उठ्दै शीर्ष बरियतासम्म पुगेर प्रशिक्षणको जिम्मेवारी लिदैं विदेशिका उनी टेनिस नै सबैथोक हो भन्छन् ।

घरमा आमा, भाई र हजुर आमा छन् ।

सम्झौता बाहेक प्राईभेट प्रशिक्षण समेत गराउने सोच लिएका छन् ।

‘दैनिक पाँच घण्टा सिकाउँछु’ उनी भन्छन्–‘प्राईभेट क्लास खेलाएको छुट्टै पैसा आउँछ ।’

फुर्सद हुने वित्तिकै टेनिस कोर्ट नै रुँगेर र्याकेट समातेर बल हान्न हतारिन्थे ।

त्यसैको प्रतिफल आज उनले आफूले पाएको सुनाउँछन् ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

मनाङको शैक्षिक सत्र सुरु नै नभई सकियो