व्यापारिक चहलपहल बढे,तर उपभोक्ता बजारमा पुग्न सकेनन्

काठमाडौं । मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जारी छ ।

पछिल्लो समयमा सङ्क्रमणले गति लिएको तथ्याङ्कले देखाउँछ ।

उपत्यकामा आधाभन्दा बढी कोरोनाका बिरामी भेटिन थालेका छन् ।

व्यवसायी आधाभन्दा बढी व्यापारमा मन्दी आएको दुखेसो गर्छन् ।

काठमाडौँको महाबौद्ध, असन, इन्द्रचोक, न्यूरोड मुख्य व्यापारिक केन्द्र हो ।

कोरोनाकालका बीच हिन्दू नेपालीको महान् पर्व बडादशैँको मुख्य दिन आउनै लाग्दा उपत्यकाका अघिल्लो महिनाको तुलनामा व्यापारिक चहलपहल केही बढे पनि सोचेअनुसारका उपभोक्ता बजारमा पुग्न सकेका छैनन् ।

कात्तिक लागेपछि व्यापारिक केन्द्रमा मानिसको चहलपहल बढेको महानगरीय प्रहरी वृत्त जनसेवाले जनाएको छ ।

त्यसैले अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

व्यापारिक क्षेत्रमा सम्भावित घटना हुन नदिन आवश्यक मात्रामा सुरक्षा व्यवस्था मिलाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल बताउँछन् ।

आवश्यक सुरक्षा योजनासमेत लागू गरिएको छ ।

सुरक्षा मापदण्ड प्रयोग गरेर आउँदा सामान खरिद बिक्रीमा समस्या नरहेको प्रहरीले जनाएको छ, तर पनि चहलपहल कम नै छ ।

उपत्यकाको सडकमा समेत मानिसको आवागमन निकै कम देखिएको छ ।

सवारीहरु जोरबिजोर प्रणालीमा प्रयोग गरिएकाले धेरै बाक्लो छैन ।

विगतको स्मरण गर्ने हो भने चाडबाडको मुखमा नेपालका मुख्य व्यापारिक केन्द्र यतिबेला मानिसको थेगिनसक्नु भीड हुन्थ्यो ।

सामान बिक्री गर्न व्यापारीलाई भ्याइनभ्याई हुन्थ्यो ।

भीडले गल्लीका गन्तव्य छिचोल्न मुस्किल पर्दथ्यो ।

नेपालमा गत माघदेखि कोभिड–१९ देखिएको थियो ।

चैत ११ पछि झण्डै चार महिना बन्दाबन्दी र त्यसपछि निषेधाज्ञा जारी गरेर नियन्त्रणको प्रयास गरिएको थियो ।

जसका कारण विश्व अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ ।

त्यसको असर नेपालमा पनि पर्न गएको छ ।

यद्यपि सरकारले व्यवसाय चलायमान बनाउन आवश्यक सुरक्षा मापदण्डको प्रयोग गरी गतिविधि खुला गरेको छ ।

अझ धेरै चहलपहल हुने सिनेमाहलजस्ता व्यापारिक केन्द्र खुलेका छैनन् ।

मछेन्द्रबहालका अर्का व्यवसायी विवेक तिमिल्सिना कात्तिक लागेपछि केही चहलपहल भएको तर सोचेअनुसारको व्यापार नरहेको प्रतिक्रिया दिन्छन् ।

व्यापारीहरु भूकम्प आउँदासमेत यस्तो मन्दी नभएको अनुभव सुनाउँछन् ।

यसपटक इतिहासकै व्यापारिक मन्दी भएको उनीहरुको बुझाइ छ ।

उपत्यकाको मात्रै होइन, जिल्लाका व्यापारिक केन्द्रमा पनि सोचेअनुसारको चहलपहल हुनसकेको छैन ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

२४ घण्टामा १ हजार ७०३ सङ्क्रमित थपिए

कोरोना संक्रमितको चितवनमा मृत्यु