युनाइटेडको जितबाट सोल्सजायरलाई राहत

काठमाडाै । दुई साताअघि म्यानचेस्टर युनाइटेडको अवस्था अन्योलपूर्ण थियो तर अहिले पेरिस सेन्ट जर्मन (पिएसजी) को अवस्था कठिन बनेको छ ।

ओले गनर सोल्सजायरको टोलीले मंगलबार च्याम्पियन्स लिग समूह ‘एच’ को भिडन्तमा पिएसजीको चुनौती २–१ ले समाप्त पारेको हो ।  

२०१९ मार्चमा च्याम्पियन्स लिग अन्तिम १६ मा युनाइटेडले पिएसजीमाथि २–१ कै जितका साथ अघिल्लो चरण प्रवेश गर्दा सोल्सजायरले अन्तरिमबाट स्थायी रूपमै मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका थिए ।

जहाँ युनाइटेडका लागि मार्कुस रासफोर्डले इन्जुरी समयमा पेनाल्टीबाट विजयी गोल गरेका थिए ।

मंगलबार पनि पिएसजीविरुद्ध युनाइटेडको जितमा रासफोर्डले नै निर्णयक गोल गरे । यस पटक पनि सोल्सजायर आफ्नो पद जोगाउन सफल भए ।  

युनाइटेडले घरेलु मैदानमा टोटेनह्यामसँग ६–१ को लज्जास्पद हार बेहोरेको मात्र दुई साता बितेको छ ।

सो हारपछि सोल्सजायरको ओल्ड ट्राफोर्ड भविष्य अन्योलमा परेको थियो । यसै साता सम्पन्न इङ्लिस प्रिमियर लिगमा युनाइटेड न्युक्यासल युनाइटेडमाथि ४–१ को जितका साथ सुखद लयमा फर्किएको थियो ।

सो जितबाट युनाइटेडले फ्रान्स भ्रमण गर्दा उच्च मनोबल बनाएको थियो ।  

पिएसजीविरुद्ध युनाइटेडका कप्तान ह्यारी म्याग्वेर अनुपस्थित थिए भने पाउल पोग्बा पनि बेन्चमा थिए ।

सोल्सजायरले २२ वर्षे एक्सेल त्वानजेबेलाई १० महिनामा पहिलो पटक पहिलो रोजाइबाट खेलाएका थिए । त्यस्तै रक्षक एलेक्स टेलेसले पनि युनाइटेडबाट डेब्यु गर्न भ्याए ।

म्याग्वेरको अनुपस्थितिमा युनाइटेडको कप्तानी सम्हालेका ब्रुनो फर्नान्डेसले पेनाल्टीको सदुपयोग गर्दा युनाइटेड खेलमा अघि बढेको थियो ।

उनले पहिलो पटक प्रहार गरेको पेनाल्टी विफल भएको थियो ।

प्रिमियर लिगमा खराब सुरुआत गरेको युनाइटेडले जितको लयमा फर्किएको संकेत त गरेको छ तर व्यस्त खेलतालिका भने सोल्सजायरको टोलीका लागि कठिन बन्न सक्छ ।

अबका दुई लिग खेलमा युनाइटेडले चेल्सी र आर्सनललाई आतिथ्यता प्रदान गर्नेछ ।

त्यसपछि आरबी लिपजिगले ओल्ड ट्राफोर्डको भ्रमण गर्नेछ ।

नोभेम्बरको सुरुआतमा युनाइटेडले इस्तानबुल बसाकसियर र एभर्टनको भ्रमण गर्नेछ ।

समूह ‘एच’ कै अर्को खेलमा आरबी लिपजिगले स्तानबुल बसाकसियरलाई २–० ले हरायो ।

च्याम्पियन्स लिगअन्तर्गत मंगलबार भएको समूह ‘डी’ को खेलमा चेल्सी सेभियासँग गोलरहित बराबरीमा रोकिँदा समूह ‘एफ’ मा लाजियोले बोरुसिया डर्टमन्डलाई ३–१ ले हरायो ।

यता क्रिस्टियानो रोनाल्डोबिना उत्रिएको युभेन्ट्सले समूह ‘जी’ मा डाइनामो किभलाई २–० ले हराउँदा सोही समूहमा लियोनल मेसीको टोली बार्सिलोनाले फ्रेन्काभारोसमाथि ५–१ को सानदार जित हात पा-यो ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

मैत्रीपूर्ण खेलः इंग्ल्याण्डको शानदार जित

फ्रान्स फिनल्यान्डसँग २-० ले पराजित