कोरोनाले बैंकहरूको खराब कर्जा बढायाे,

काठमाडाै । काेरोनाका कारण बैंकहरूको खराब कर्जा बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले भदौ अन्त्यसम्ममा सम्भावित नोक्सान व्यवस्थाका लागि छुट्याएको रकम अघिल्लो वर्षको तुलनामा २३ प्रतिशत बढी छ ।

यो भदौसम्म कुल कर्जा ३२ खर्ब ८७ अर्ब लगानी गरेका बैंकहरूले ७९ अर्ब १४ करोड रुपैयाँ कर्जा नोक्सान व्यवस्थामा राखेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

यो गत वर्षको भदौको तुलनामा करिब २३ प्रतिशतले वृद्धि भएको हो  ।

गत वर्ष बैंकहरूले ६४ अर्ब ४१ करोड रुपैयाँ नोक्सान व्यवस्था राखेका थिए  ।

बैंकहरूले कर्जा नोक्सानी व्यवस्थाबापत छुट्याएको रकम कुल कर्जाको साढे २ प्रतिशत हो  । 

कोरोना संक्रमणका कारण आर्थिक कारोबार सुस्ताउँदा बैंकहरूको कर्जा उठ्ती दरमा समस्या कायम रहेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए  ।

बैंक तथा वित्तीय संस्थाको उठ्न सक्ने सम्भावना भए पनि उठिनसकेको ब्याज रकम (इन्टे«स्ट सस्पेन्स एकाउन्टमा) करिब ३१ अर्ब ४७ करोड रुपैयाँबराबर रहेको छ  ।

यस्तो रकम गत असार अन्त्यमा भने २७ अर्ब थियो  ।

विगतदेखि नै लगानी भएर उठ्न नसकेका कर्जाका ब्याजहरूसमेत यस शीर्षकमा राखिने गरिन्छ  ।

वाणिज्य बैंकहरूको मात्रै उठ्न सक्ने सम्भावना भए पनि उठिनसकेको ब्याज रकम १९ अर्ब रुपैयाँ बराबर छ । 

२३ वाणिज्य बैंकले ६६ अर्ब ९५ करोड रुपैयाँ नोक्सान व्यवस्थामा छुट्याएका छन्  ।

गत वर्ष भने २८ वाणिज्य बैंकले ५२ अर्ब ४६ करोड रुपैयाँ रकम छुट्याएका थिए  । 

२३ वाणिज्य बैंकमा प्रत्येकले १ अर्बदेखि ७ अर्ब रुपैयाँसम्म नोक्सान व्यवस्था राखेका हुन्  ।

राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै ७ अर्ब ३७ करोड रुपैयाँसम्म नोक्सान व्यवस्था राखेको छ  ।

सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकले नोक्सान व्यवस्था राखेको छ  ।

बैंकले १ अर्ब १ करोड रुपैयाँ राखेको हो  ।  

राष्ट्र बैंकले २०७६ पुस मसान्तसम्म असल वर्गमा रहेका र २०७७ असार मसान्तसम्म गएका कर्जामा समेत सोही वर्गमा नै वर्गीकरण गर्न सकिने सुविधा दिएको थियो  ।

त्यस्तै, असारसम्म गएको कर्जाको ब्याज २०७७ असोजसम्म असुल भएमा पनि असारकै आम्दानीमा देखाउन पाइने सुविधा दिइएको थियो  ।

राष्ट्र बैंकले कोभिडको प्रभावलाई मध्यनजर गर्दै कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणसमेत गर्न सकिने व्यवस्था गरेको छ  ।

कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण गर्दा भने कमसल वर्गमा नपुगिसकेका कर्जाहरूमा १२ दशमलव ५ प्रतिशत प्रावधान राख्नुपर्छ  । 

गत असारसम्म नउठेको कर्जा कोभिडको प्रभाव हेरेर न्यून प्रभावितले २०७७ मसान्तसम्म, मध्यम प्रभावित कर्जाले २०७७ चैत र अतिप्रभावित कर्जाले २०७८ असार मसान्तसम्म किस्ता र ब्याज भुक्तानी गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरिदिएको छ  ।

 यसअनुसार असल वर्गमा रहेका कर्जामा १ प्रतिशत, सूक्ष्म निगरानीमा रहने कर्जाका लागि ५ प्रतिशत, कमसल वर्गमा परेका कर्जाका लागि २५ प्रतिशत, शंकास्पद वर्गमा परेकामा ५० प्रतिशत र खराब भएको कर्जाका लागि शतप्रतिशत प्रावधान राख्नुपर्ने व्यवस्था छ  ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

नेपाली खेलाडीको एक घण्टामा नया कीर्तिमान