व्यापारमा अग्रसर रहेको बुटवल मेगा सिटी बन्दै

काठमाडाै । बुटवल साबिकका लुम्बिनी अञ्चलका पहाडी जिल्लासँगै राप्ती, भेरी अञ्चलका धेरै जिल्लाको व्यापारिक केन्द्र हो  ।

त्यस्तै स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दी जिल्लासँग पनि बुटवलको व्यापारिक साइनो छ  ।

२००७ सालबाट व्यापारमा अग्रसर रहेको बुटवल अहिले व्यावसायिक, औद्योगिक हुँदै पर्यटकीय सहरका रूपमा पनि परिचय बनाउँदै छ  ।

२०७४ माघमा तत्कालीन शेरबहादुर देउवा सरकारले प्रदेश ५ को अस्थायी राजधानी घोषणा गरेपछि बुटवलमा प्रशासनिक गतिविधिसँगै भीडभाड बढ्दो थियो  ।

तीव्र गतिमा विकास र जनघनत्व बढ्दै गएको बुटवल सहरलाई प्रदेश सरकारको असोज २० गते बसेको मन्त्रिपरिषद् बैठकले सांस्कृतिक पर्यटकीय सहर बनाउने निर्णय गरेको छ  ।

सरकारले प्रदेशको स्थायी राजधानी दाङ देउखुरी र नाम लुम्बिनी कायम गर्ने निर्णय गरेसँगै बुटवलको भविष्य छैन भन्नु हरेक कोणबाट गलत रहेको इतिहासकार एवं तत्कालीन बुटवल नगरपालिकाका पूर्व उपप्रमुख विमलबहादुर शाक्यले बताए  ।

बुटवलकै मोतीपुरलाई औद्योगिक क्षेत्र बनाउने गरी काम अघि बढेको छ  ।

झन्डै एक हजार बिघा क्षेत्रफलमा उद्योग स्थापना गर्न संघीय सरकारले कार्यालय नै स्थापना गरेर काम अघि बढाएको छ  ।

लुम्बिनी, नवलपरासीको रामग्राम र कपिलवस्तुको तिलौराकोटअन्तर्गतको बुद्ध सर्किटले पनि बुटवलकै आर्थिक विकासलाई जोड्नेछ  ।

त्यसले नुन बोक्ने जमानाको थोक व्यापार गर्ने सहरलाई अझै ठूलो बनाउने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताए  ।

बुटवलको विकासका लागि प्रशासनिक राजधानी मात्र भन्दा पनि पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्ग प्रमुख मेरुदण्ड हुन्  ।

अहिलेको विकास त्यसको आधारमा भएकाले भोलिका दिनमा पनि राजनीतिक नेतृत्वले त्यसलाई नै केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्ने उनको सुझाव छ  ।

प्रदेशको राजधानीका लागि संघसंस्थाले गरेको योगदानलाई प्रदेश सरकारले कदर गर्न नसकेको उनको गुनासो छ  ।

उनका अनुसार प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय, विभाग, निवास लगायतले प्रयोग गरेका २४ भवनमध्ये तीन कार्यालय मात्र निजी घरमा भाडामा बसेका छन्  ।

अन्य सबै संरचना सरकारी र संघसंस्थाले उपलब्ध गराएको उनले बताए  ।

संघले प्रदेशको प्रदेशसभा सञ्चालनका लागि आफ्नै भवन उपलब्ध गराएको थियो ।

भैरहवाको विमानस्थल निर्माण सम्पन्न हुने अन्तिम चरणमा छ  ।

गत वर्ष तिलोत्तमा नगरपालिकाले गरेको लगानी सम्मेलनले बुटवल–भैरहवा ६ लेन करिडोर आसपासमा धेरै उद्योग र लगानीका लागि सम्भावनाको ढोका खोलेको छ  ।

त्यसले बुटवलको सौन्दर्य र महत्त्व थप बढाउनेछ  ।

विश्वै पहिचान बोकेको लुम्बिनी जोड्ने गरी बुटवल–भैरहवा ६ लेनको सडकबाटै भैरहवा–लुम्बिनी चार लेनको सडक पनि निर्माणाधीन छ  ।

बुटवलबाटै बेलबास–बेथरी चार लेन सडकको निर्माण पनि अन्तिम चरणमा छ  ।

ठूला आयोजना निर्माण र विकास संरचनामा पूर्वअर्थमन्त्री एवं अहिलेका नेकपाका महासचिव विष्णु पौडेलको राम्रै योगदान छ  ।

१० वर्षअघिको जनगणनामा बुटवलको जनसंख्या ८ लाख १० हजार १ सय ९६ थियो  ।

अहिले त्यो बढेर झन्डै तेब्बर भएको बुटवल उपमहानगरपालिकाको आकलन छ  ।

त्यस्तै घना बस्ती विकास पनि तीव्र रूपले भइरहेको छ  ।

बुटवलमा देशभरका ७७ मध्ये ५० बढी जिल्लाका मानिसको बसोबास छ  ।

बुटवलको विकासलाई अब कुनै पनि निर्णय र प्रक्रियाले रोक्न नसक्ने बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीको दाबी छ  ।

सडक, खानेपानी, सिँचाइ, औद्योगिक क्षेत्र, पर्यटन, वातावरण, अन्तर्राष्ट्रिय सभाहल र प्रदर्शनी स्थल, विमानस्थल सबै क्षेत्रको विकासले बुटवलले देशकै ठूला सहरको नेतृत्व गर्न थालेको उनले बताए  ।

बुटवललाई केन्द्रमा राखेर लुम्बिनी, गौतम बुद्ध विमानस्थल, तिलौराकोट, रामग्राम सहितका क्षेत्रमा ६ र ४ लेनका सडक विस्तार भइरहेको उनले बताए ।

त्यसमा संघीय र प्रदेश सरकारको पनि पूर्ण सहयोग छ ।

बुटवललाई मध्यभागमै राखेर पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्ड ६ लेनमा विस्तार भइरहेको छ  ।

चालु वर्षमै बुटवल–दाङ हुँदै कोहलपुरसम्मको प्रक्रिया अघि बढ्दै छ  ।

त्यसले पनि बुटवललाई व्यापारिक, आर्थिक र राजनीतिक केन्द्रका रूपमा अघि बढाउनेछ  ।

बुटवलकै तिनाउ र दानव नदीको किनारमा हरियालीसहितको ‘स्याटेलाइट सिटी’ निर्माण गर्ने योजना नगरपालिकाले तयार गरेको छ  ।

पाँच वर्षभित्रै सम्पन्न गर्ने गरी त्यसको काम पनि अघि बढ्ने नगर प्रमुख सुवेदीको भनाइ छ  ।

प्रदेश सरकारले पनि रूपन्देहीको बुटवल–भैरहवा, दाङको घोराही–तुलसीपुर, बाँकेको नेपालगन्ज–कोहलपुर जोडेर तीन महानगरपालिका बनाउने गरी योजना अघि बढाएको छ  ।

त्यसले पनि बुटवलको विकासमा थप फड्को मार्नेछ ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

बाबुराम-हिसिलालाई कोरोना संक्रमण

गोरखाबाट हनुमानढोका लागि पठाइयो फूलपाती

आजदेखि बजारमा २ अर्ब रुपैयाँको नयाँ नोट