मध्य तथा सुदूरपश्चिमका पहाडी बस्तीमा नारीहरूले भोग्नु परेका पिडाकाे यथार्थ

मलाई जब सुत्केरी व्यथाले च्याप्यो, हतारहतार छाउपडी गोठ (महिनावारी हुँदा र सुत्केरी हुँदा बस्नका लागि बनाइएको सानो र होचो गोठ) मा लगियो ।

हाम्रो घरको पछाडिपट्टि त्यस्तो गोठ थियो । लामो प्रसव व्यथापछि त्यहीँ मैले छोरा जन्मिएँ ।

एउटै कुराले मुटु काम्छ, ताकी मेरो सन्तानले त्यो कालरात्रि देख्नु र भोग्नु नपरोस् ।

मध्य तथा सुदूरपश्चिमका पहाडी बस्ती छाउपडीजस्तो सामाजिक अन्धविश्वासले अझै पनि बदनाम छन् ।

महिनावारी भएका महिला र सुत्केरीलाई घरभित्र बस्न दिइँदैनथ्यो ।

हरेकले घरछेउ सानो छाउगोठ बनाउँथे । सुत्केरी हुँदा होस् वा महिनावारी हुँदा, त्यही गोठमा महिलाले कष्टसँग बस्नुपर्थ्याे ।

अझै पनि हामी छाउगोठमा हरेक वर्षजसो किशोरीको ज्यान गएका समाचार सुन्न बाध्य छौँ ।

कहिले गोठमा निसास्सिएर त कहिले बलात्कृत भएर, कहिले सर्पले डसेर मृत्यु हुनेको खबर सुन्दा मलाई साह्रै दुःख लाग्छ ।

सामाजिक कुरीतिको भुङ्ग्रोमा म जस्तै कयौं आमा पिल्सिएका थिए ।

मेरो पुस्ताले भोग्नुपरेको उत्पीडन कल्पना गर्दा पनि आङ सिरिङ्ग भएर आउँछ ।

मैले शहरका सुविधासम्पन्न अस्पतालमा पनि गर्भवती र सुत्केरीले भोगेका पीडा र व्यथा देखेको छु, सुनेको छु ।

आफ्नै सन्तान जन्मिदा प्रत्यक्ष भोगे ।

नियमित गर्भ जाँच गराएर विशेषज्ञबाट प्रसूति गराउँदा त जोखिम हुने रैछ ।

त्यस बेला गाउँको हाल के हुँदो हो ? म त्यो वियोगान्त कल्पना पनि गर्न सक्दिनँ ।

गाउँमा सुँडेनी हुन्थे । उनीहरूले अनुभवका आधारमा सुत्केरी गराउँथे ।

न कुनै अध्ययन, न तालिम । परम्परागत ढङ्गले सुत्केरी गराउँदा थुप्रै गलत अभ्यास पनि हुन्थे ।

गर्भवतीको स्वास्थ्यमा थोरै मात्र जटिलता आयो कि अकालमा ज्यान गुमाउनुपर्थ्याे ।

न्वारन नगरेसम्म सुत्केरी र शिशुलाई अरुले छुदैन्थे ।

सुत्केरी स्वयम्‌‌ले स्याहार्नुपर्थ्याे । सुत्केरी राम्ररी नतङ्ग्रिँदै घाँसपात, स्याउला र दाउरामा लाग्नुपर्थ्याे ।

सुत्केरीले पोषिलो खानेकुरा र स्याहार पाउनुपर्ने बेलामा अभाव र गरिबीले आधा पेट खाएर सुत्नुपर्ने अवस्था थियो ।

अलिकति गरिबी, अलि धेरै अन्धविश्वासले सुत्केरी हुनु ठूलो कष्ट व्यहोर्न तयार हुनुझैँ थियो ।

भर्खरै जन्मेको बच्चालाई गोठमा सुताएर वा डोकोले छोपेर सुत्केरी घरबाहिरको काममा लाग्नुपर्थ्याे ।

जन्मेको केही दिनपछि मैले पनि छोरालाइ डोकोले छोपेर घाँसपात गर्ने गर्थें ।

सुत्केरी भएको नौँ दिन को दिनमा नजिकैको जंगलतिर घाँसदाउरा खोज्न छोरालाई डोकोले छोपेर गएँ ।

साँझ फर्केर दूध खुवाउन छोपेको डोको हटाउँदा त छोरासँगै सर्प रहेछ । म आतिए ।

चिच्याउन लागे त तर त्यो छाउ गोठ थियो मेरो चिच्याइ सुनेर को नै आउथे र ? आए पनि सबै तमासा हेर्ने को भिड हुन्थ्यो ।

मेरो चिच्याइको रोदनले सर्प केही नगरी भाग्यो । एउटा ठूलो भाग्यले मेरो नाबालक छोरोको ज्यान जोगियो ।

यो कुरा हाम्रो घरपरिवार र सिङ्गो गाउँले थाहा पायो । सबैले अनौठो मानेर घटना सुने ।

तर, सुत्केरीलाई गोठमा राख्दा यस्तो जोखिम मोल्नुपर्‍यो भन्ने कोही निस्केन्न । बरु बुढापाकाहरूले त ‘ती नाग देवता हुन् । त्यसैले बच्चालाई केही गरेनन् ।

नागले रक्षा गरेकाले तिम्रो छोराको आयु लामो हुन्छ, ठूलो मान्छे हुनेछ ।’ यस्तै, यस्तै गाँइगुइँ गर्न थाले ।

यो घटनाको यथार्थ दृश्य बारम्बार मेरो आँखामा आइरहन्छ ।

संयोग भनौँ वा भाग्य, नाबालक मेरो छोरोलाइ सर्पले डसेन । तर, आज पनि म सर्प देख्दा तर्सिन्छु । सबैभन्दा धेरै केहीबाट डर लाग्छ भने त्यो सर्प नै हो ।

छाउगोठमा सर्पले टोकेर सुत्केरी वा शिशुको मृत्यु भएका समाचार पढ्दा त्यो मेरै कथा हो भनेझैँ लाग्छ ।

त्यहि कालबाट मेरो छोरो बाच्यो । कथंकथाचित मैले केही ढिलो गरेको भए के हुन्थ्यो ? डोको झिक्दा सर्पले डसेर भागेको भए के हुन्थ्यो ? यस्ता कुरा मेरो मनमा खेलिरहन्छन् अझेैपनि ।

हामी र हामीअघिको पुस्ता छाउपडी गोठमै जन्मियो । आमाको दूध खाउन्जेल छाउपडी हुँदासँगै गोठमै हुर्कियो । त्यसैले मैले हाम्रो पुस्तालाई छाउगोठमा हुर्केको पुस्ता भन्ने गरेको छु ।

हाम्रो गाउँमा छोराछोरीबीच असाध्यै भेदभाव थियो । छोरालाई अंश र वंशको एक्लो उत्तराधिकारी मानिन्थ्यो ।

छोरा जन्मिदा खुसी मनाइन्थ्यो, छोरी जन्मिदा खासै कुनै उत्साह हुँदैनथ्यो । छोरालाई पढाइन्थ्यो, छोरीलाई पराइको घरमा जाने, अरुको भित्ता टाल्ने जात भनेर पढ्नु पर्दैन भनिन्थ्यो ।

छोराले गल्ती गर्दा सहजै माफी पाउँथ्यो । छोरीलाई त्यो सुविधा थिएन ।

भान्सामा पाक्ने मीठोमसिनो खानेकुरामा पनि विभेद गरिन्थ्यो ।

बाबुआमाको पहिलो प्राथमिकतामा छोरा पर्थ्याे । घाँसपात, दाउरादेखि चुलाचौकाका सबै काम छोरीकै जिम्मामा हुन्थ्यो ।

छोरीलाई कुनै प्रकारको अंश तथा सम्पत्ति दिइँदैनथ्यो ।

विवाहपछि छोरी वा बहिनीको अवस्थाका बारेमा सोधखोज नै गरिँदैनथ्यो । सात ,आठ वर्ष पुरा हुन नपाउदै पराइ घर पठाउथे ।

महिलाहरूले महिनावारी (रजस्वला) हुँदा असाध्यै नराम्रो व्यवहार सहनुपर्थ्याे ।

उनीहरूलाई दोस्रो दर्जाको नागरिकसरह व्यवहार गरिन्थ्यो । घरमा बस्न पाउँदैनथे ।

महिनावारी भएका महिला घरमै बसे देउता रिसाउँछन्, अनिष्ट हुन्छ, सर्पले लखेट्छ भन्थे बुढापाकाहरू ।

त्यही देउताको डरले वर्षौंवर्ष महिलाहरू नारकीय जीवन जिउन बाध्य छन् ।

नेपालका अरु ठाउँमा पनि महिनावारी भएका महिलालाई छोइछिटो गरिन्छ ।

सधैँ सुत्ने कोठा र ओछ्यानमा सुत्न दिइँदैन । भान्सामा पस्न र खाना पकाउन पनि बन्देज छ । पूजाआजा त झन् गर्ने कुरै भएन ।

मध्य र सुदूरपश्चिमी पहाडमा उनीहरूलाई छुट्टै गोठ बनाएर बसाल्ने गरिएकाले धेरै चर्चा र बदनामी कमाएको छ ।

सबै घरमा छाउपडी गोठ पनि थिएनन् । हाम्रो गाउँमा दुई/तीन घरमा मात्र छाउगोठ थिए ।

तिनै घरमा महिलाहरू कोचिएर बस्नुपर्थ्याे । घरदेखि अलि पर छाउपडी गोठ हुन्थे । त्यस्ता छाउगोठमा कुनै झ्याल राखिएका हुँदैनथे ।

बत्ती पनि नबोल्दा ती अन्धकार कोठरी थिए । वर्षातमा पानी चुहिने र सर्प तथा कीरा सहजै भित्र पस्न सक्थे । खानपिनको कुनै निश्चितता हुँदैनथ्याे ।

महिनावारी भएकी महिला (छाउपडी)लाई टाढैबाट रोटी र चटनी दिइन्थ्यो । छाउपडीले घरबाहिरका सबै काम गर्न मिल्थ्यो ।

घाँस दाउरा र खेतबारीका सबै काम गर्न मिले पनि दूध, दही, घिउजस्ता पोषिला खानेकुरा खान पाउँदैनथे ।

सुत्केरी भएका महिलालाई छाउपडी गोठमा राखिन्थ्यो । उनीहरूलाई पनि छाउपडीसरह नै व्यवहार गरिन्थ्यो ।

छाउपडी गोठमा सर्पले टोकेर, चिसो र राम्रो स्याहार नपाएर शिशुहरूको ज्यान जान्थ्यो ।

पछिल्ला केही वर्षमा छाउपडी प्रथाविरुद्ध जनता जागेका छन् । छाउपडी गोठ भत्काउने अभियान नै चलाइयो । छाउगोठ राख्नु र त्यहाँ बस्न बाध्य पार्नु गैरकानुनी हुन्छ ।

प्रहरी र प्रशासनको सक्रियतामा मध्य तथा सुदूरपहाडका हजारौँ छाउपडी गोठ भत्काइए । देशमा राजनीतिक, सामाजिक र विकृतिविरुद्ध वर्षौंदेखि आन्दोलन जारी छ ।

राजनीतिक आन्दोलन टुङ्गोमा पुगे पनि सामाजिक आन्दोलन रोकिएको छैन । सरकारले गाउँगाउँमा रहेका छाउगोठहरू त भत्कायो ।

तर, अन्धविश्वासी समाजमा जरो गाडेको यो सामाजिक समस्या उखेलिएको छैन ।

लोकतन्त्र आयो, गणतन्त्र आयो ,प्रजातन्त्र आयो, एक परिवारका एक सदस्य शिक्षित भए तर मानिसमा यि विषयका बारे फराकिलो सोचाइ बनाउन सकेनन् ।

औला उठाउने पनि धेरै आए, नियमकानुन पनि कडा बनाइयो, तर कार्यन्वयन मा आएन्न ।

छाउपडी प्रथा स्वीकारेका मानिसका मनबाट छाउगोठ नभत्काएसम्म यो समस्याको स्थायी समाधान सम्भव देखिँदैन ।

Like Share on Social media
  •  
  •  
  •  
  •