निगमको वाइडबडीको फ्ल्यापमा समस्या देखिएपछि उडान रद्द

काठमाडौँ । चाडबाड नजिकिएसँगै उडान संख्या बढाउनुपर्ने बेला नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान १३ दिन देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएको छ ।
नेपाली नाम मकालु भएको दायाँ पखेटामा रहेको फ्ल्यापमा समस्या देखिएको संकेत पाइएपछि पाइलटले उडान रद्द गरेका थिए ।
निगमका एक प्राविधिकका अनुसार उक्त विमान असोज ७ गते मेडिकल कार्गो लिन चीनको कुनमिङ उडानमा रहेका बेला सिन्धुलीको आकाशबाटै फर्किएको थियो ।
निगमको वाणिज्य विभागले २ सय ७४ सिट क्षमताको वाइडबडी विमान ग्राउन्डेड भएपछि १ सय ५८ सिट क्षमताको न्यारोबडीबाट उडान गर्नुपरेको जनाउँदै आएको छ ।
झन्डै दुई साता बितिसक्दा पनि निगमको इन्जिनियरिङ विभागले जहाज मर्मत गरेको छैन ।
नौ महिनाको अवधिमा यो विमानको फ्ल्यापमा समस्या देखिएको यो तेस्रो पटक हो ।
यो समस्यामा जहाज उत्पादन गर्ने एयरबसका इन्जिनियरले अनुसन्धान गरिरहेको बताए ।
निगमले लकडाउनकै समयमा यो विमानको हरेक दुई वर्षमा अनिवार्य गरिने सी–चेक (सम्पूर्ण मर्मत) एक महिनाअघि मात्रै इन्डोनेसियाको जीएमएफ एरोएसिया नामको कम्पनीबाट गरेर ल्याएको थियो ।
यो मर्मतमा निगमले करिब डेढ करोड रुपैयाँ खर्च गरेको थियो ।
अहिले देखिएको फ्ल्यापको समस्या र सी–चेकको सम्बन्धबारे पनि प्राविधिकले अनुसन्धान गरिरहेको इन्जिनियरहरूले बताएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्