अनुमान भन्दा फरक तथ्यांक रेमिट्यान्स बढ्यो, हुण्डि घट्यो

काठमाडौं । विश्व अर्थतन्त्रमा कोरोना भाइरस (कोभिड-१९) को निकै ठूलो असर परे पनि नेपाल भित्रने रेमिट्यान्समा भने सकारात्मक प्रभाव परेको छ ।

नेपाल पूर्ण लकडाउन भएर वैदेशिक रोजगारीमा जाने क्रम ठप्प हुँदा पनि रेमिट्यान्स बढिरहेकाे छ ।

कोरोना संक्रमणको जोखिम बढ्दै गए पछि सरकारले ११ चैत देखि देशमा पूर्ण लकडाउन गर्‍यो ।

बिचमा खुला भएको लकडाउनलाई ३ साउनमा जारी निषेधाज्ञाले निरन्तरता दिएको थियो ।

निकै कडाइका साथ लागू भएको निषेधाज्ञाको अवधीमा वैदेशिक रोजगारीमा एक जना पनि जान पाएनन् ।

अन्तर्राष्ट्रिय उठान ठप्प रह्यो । तर यहिँ अवधीको साउनमा २३ प्रतिशतले रेमिट्यान्स आप्रवाह बढ्यो ।

राष्ट्र बैंकको तथ्यांकले २०२० जुलाईमा रेमिट्यान्स धेरै भित्रिएको देखाउँछ ।

रेमिट्यान्स सेवा सञ्चालकहरु जुलाईमा बढी रेमिट्यान्स भित्रनुमा मुख्य दुई कारण रहेको बताउँछन्-

पहिलो, नेपाली श्रमिकले कोरोना महामारीको सुरुआती चरणमा रोकिएको तलब-भत्ता एकमुष्ठ पाउनु,

र दोस्रो, अनौपचारिक माध्यम अर्थात हुण्डि कारोबारमा गिरावट आउनु ।

हुण्डि कारोबार गर्नेलाई जेल सजाय हुने कानुनी व्यवस्था छ ।

तर कतिपय व्यवहारिक कठिनाइका कारण धेरै देशहरुबाट हुण्डि मार्फत रकम आउने गरेको छ । २० प्रतिशत भन्दा बढी रेमिट्यान्स हुण्डिबाट नेपाल भित्रने गरेको अनुमान छ ।

कोरोना नियन्त्रणका लागि नेपालमा ६ महिना लामो बन्दबन्दी भयो ।

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरु खुला रहे ।

लकडाउनको अवधिमा हुण्डि कारोबारीहरु पक्राउ परेका समाचारहरु पनि आएनन् ।

यसले पनि हुण्डि कारोबार नभएको वा कम भएको अनुमान गर्न सकिन्छ ।

कोरोनाको जोखिम बढ्दै जादा रेमिट्यान्समा ठूलो धक्का पर्ने धेरैको अनुमान थियो ।

केन्द्रीय बैंकले आर्थिक वर्ष २०७६/०७७ मा रेमिट्यान्समा ५ प्रतिशत भन्दा बढी गिरावट आउने अनुमान गरेको थियो ।

विश्व बैंकले त यो गिरावट १४ प्रतिशतसम्म झर्ने अनुमान गरेको थियो ।

तर केन्द्रीय बैंकले गत आर्थिक वर्षको तथ्यांक सार्वजनिक गर्दा यि अनुमानहरुले पल्टा खायो ।

तथ्यांक अनुसार गत आवमा ८ खर्ब ७५ अर्ब ३ करोड रेमिट्यान्स नेपाल भित्रियो ।

आव ०७५/७६ को तुलनामा यो ०.५ प्रतिशत मात्र कम हो ।

आव ०७५/७६ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.३ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ७.८ प्रतिशतले बढेको थियो ।

चालु आवको पहिलो महिना साउनमा विदेशमा बस्ने नेपालीले ९२ अर्ब ७१ करोड रुपैयाँ नेपाल पठाए ।

यो अनुमान विपरीतको तथ्यांक थियो ।

वैदेशिक रोजगारीमा जाने क्रम ठप्प भएको बेला यत्रो रकम भित्रिएको हो ।

केन्द्रीय बैंकका अनुसार चालु आवको साउनमा अघिल्लो महिनामा भन्दा २३ प्रतिशत बढी रेमिट्यान्स आयो ।

अघिल्लो वर्षको साउनमा असारको भन्दा जम्मा २ प्रतिशत बढी थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो ।

साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यो संख्या १९.० प्रतिशतले घटेको थियो ।


राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८०.० प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यो संख्या १.३ प्रतिशतले घटेको थियो ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

नेपाली खेलाडीको एक घण्टामा नया कीर्तिमान

कोरोनाले बैंकहरूको खराब कर्जा बढायाे,