बलिउड अभिनेत्री दीपिका पादुकोण लागुऔषध दुर्व्यसनी अनुसन्धानमा

सुशान्तसिंह राजपुतको मृत्युसँग जोडिएको बलिउड लागुऔषध दुर्व्यसनी अनुसन्धानमा अभिनेत्री दीपिका पादुकोण तानिएसँगै बलिउड उद्योगको ६ सय करोड रुपैयाँ जोखिममा परेको छ।
दीपिका पछिल्लो पुस्ताकी महंगो पारिश्रमिक लिने सफल अभिनेत्री हुन् । उनीमाथि अहिले पनि मनोरञ्जन उद्योगको ६ सय करोड रुपैयाँ लगानीमा छ । जसमा दुई वटा फिल्म र ३३ वटा ब्राण्ड एण्डोर्समेन्ट समावेश छ।
ट्रेड एनालिस्ट तथा ४० वर्षदेखि फिल्म वितरणमा सक्रिय राज बंसलले दीपिकाको करियरमा असर पर्ने टिप्पणी गरेका छन्। सबैले सुशान्तको हत्या कसले गरेको भनेर खोजिरहेको र ड्रग्ससँग जोडिएका नामका पछाडि सेलिब्रेटी भएकै कारण सबैको चासो रहेको भन्दै उनले दीपिकाका फिल्मको व्यापारमा समेत असर पर्ने जिकिर गरे ।
नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले दुर्व्यसनीमा संलग्नता देखिएको भन्दै दीपिकालाई शनिवार सोधपुछका लागि बोलाएको छ।
विश्लेषकहरुले यसबाट दीपिकाको करियरमा असर पर्ने बताएका छन् ।
दीपिका अहिले मधु मंतेनाको आगामी फिल्ममा आबद्ध भएकी छन्। फिल्मको कथा महाभारतको पात्र द्रौपदीबाट प्रेरित छ। दीपिकासँगै मधु मंतेना पनि ड्रग्स विवादमा फसेकी छन्।
अर्का ट्रेड पण्डित अतुल मोहन भने फिल्ममा करियरमा कुनै घाटा नहुने तर्क गर्छन्। एण्डोर्समेन्टमा भने निश्चित घाटा हुने उनी बताउँछन्।
अतुल दीपिकालाई जेल सजाय नहुनेमा पनि स्पष्ट छन्। ‘एक त व्हाट्सऐप च्याटमार्फत पुष्ट हुन बाँकी छ। दोस्रो ड्रग्स उपभोग गर्दा जेल सजायँ हुँदैन। जो मानिस ड्रग्स व्यापारमा छन्, उनीहरुलाई जेल हुनेछ,’ उनी भन्छन्।
ड्रग्स प्रकरणमा आफ्नो नाम आइसकेपछि दीपिकाले कसरी आफ्ना फ्यानलाई कन्भिन्स गर्छिन् भन्ने कुरा महत्वपूर्ण हुने उनको भनाई छ।
एनसीबीले सोधपुछका लागि बोलाएपछि दीपिका बिहीवार गोवाबाट मुम्बई फर्किएकी छन्। पति रणवीर कपुरसँग फर्किएकी दीपिकाले मुम्बई एयरपोर्टमा सञ्चारकर्मीलाई लागुऔषध दुर्व्यसनीबारे कुनै प्रतिक्रिया दिइनन्। अहिलेसम्म पनि उनले आफ्नो धारणा सार्वजनिक गरेकी छैनन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्