अमेरिकामा कोरोनाविरुद्धको खोपको अन्तिम परीक्षण शुरु

अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनले विकास गर्दै गरेको एक डोज मात्र दिइने कोरोनाभाइरस खोपको अन्तिम चरणको ‘क्लिनिकल’ परीक्षण शुरु भएको छ ।

जोनसन एण्ड जोनसनका प्रमुख वैज्ञानिक पल स्टोफेल्सले यो वर्षको अन्त्यसम्ममा खोप सुरक्षित र प्रभावकारी भए/नभएको प्रमाणित भइसक्ने जनाएका छन्।

अन्तिम चरणमा हुने यो सबैभन्दा ठूलो कोरोनाविरुद्धको खोप परीक्षण हुने न्यूयोर्क टाइम्सले जनाएको छ ।

गएको सोमबार शुरु भएको अन्तिम चरणको परीक्षणमा यो खोप ६० हजार जनालाई लगाइने छ। दुई डोज लगाउनुपर्ने अन्य खोपको तुलनामा यो बढी फाइदाजनक हुने बताइएको छ।

परीक्षणका क्रममा अमेरिकी नागरिकका अतिरिक्त अर्जेन्टिना, ब्राजिल, चिली, कोलम्बिया, मेक्सिको, पेरु र दक्षिण अफ्रिकाका नागरिकलाई पनि यो खोप लगाइनेछ।

यो खोपको अर्को विशेषता भनेको यसलाई चिसोमा जमाउनु पर्दैन।

अमेरिकामा यो बाहेक अरु तीन कम्पनीले विकास गरिरहेको खोपको तेस्रो चरणको परीक्षण चलिरहेको छ ।

चिसोमा जमाउनुपर्ने खोप विशेषगरी उच्चस्तरीय उपकरण सुविधा नभएका ठाउँमा वितरण गर्न समस्या हुने जनाइएको छ।

ती सबै खोप दुई डोजका हुन्। पहिलो पटक खोप लगाएको दुई वा तीन हप्तामा दोस्रो पटक लगाउनुपर्छ।

कम्पनीले अर्को वर्षसम्ममा एक अर्ब डोज खोप उत्पादन गर्ने लक्ष्य लिएको उनलाई उधृत गर्दै वासिङ्टन पोष्टले जनाएको छ।

-एजेन्सीहरुको सहयोगमा

Like Share on Social media
  •  
  •  
  •  
  •  

कोरोना संक्रमित थप चार जनाकाे मृत्यु