बुसानको मुख्य प्रतिस्पर्धामा नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’

काठमाडाैं । फिल्म ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएको छ । सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ बुसानको मुख्य प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म भएको छ ।

फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया बालिका (विद्या)को शहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ । फिल्ममा जतिचोटी उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आइपरेर उनको त्यो सपना भताभुंग हुन्छ ।

सुजितले बालिकाको पढ्ने सपनालाई ऐना जस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथानक तयार गरेको बताए ।

सार्वजनिक लाइनअप अनुसार ‘ऐना झ्यालको पुतली’ बुसानको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’मा छानिएको हो । सोमबार भर्चुअल प्रेसमिटसँगै बुसानले यस वर्षकाे लाइनअप सार्वजनिक गरेको थियाे ।

यो सेक्सनमा नेपालसँगै विभिन्न देशका १० फिल्म छनोट भएका छन् । कुनै पनि निर्देशकको पहिलो र दोस्रो फिल्म मात्र छनोट हुने प्रावधान रहेको ‘न्यू करेन्ट सेक्सन’मा विजेता बन्ने दुई फिल्मले ३० हजार अमेरिकी डलर (नेपाली ३५ लाख रूपैयाँ) प्राप्त गर्नेछन् ।

कोभिड-१९को महामारीका कारण भर्चुअल रूपमा सम्पन्न हुने फेस्टिभल यो साल अक्टोबर २१ मा शुरू भएर ३० मा सकिनेछ । लेखक/निर्देशकको रूपमा ‘ऐना झ्यालको पुतली’ फिचर फिल्मतर्फ सुजितको डेब्यु हो ।

आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रबिन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन् ।

फिल्ममा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पसंगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको निर्माण पक्षले जनाएकाे छ ।

सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिए जुन १४ मिनेट अवधिको लघु फिल्म थियो ।

यसअघि नविन सुब्बा निर्देशित ‘गुडबाई काठमाडौं’ न्यू करेन्टपछि सर्वाधिक पुरस्कार राशि रहेको किम जेसीओके अवार्डमा छनोट भएको थियो । किम जेसीओके अवार्डमा पनि दुई फिल्मलाई नै पुरस्कृत गरिन्छ तर यसको रकम १० हजार अमेरिकी डलर मात्र रहेको छ । कान्स, बर्लिन, टोरन्टो, सन्डान्सपछि प्रतिष्ठित मानिने बुसानको यो २५औं संस्करण हो ।

Like Share on Social media
  •  
  •  
  •  
  •  

सुशान्तका बाबुले दिए रिया विरूद्ध उजुरी

फिल्म नबन्दै कराेडाैंकाे पुरस्कार