‘देश दु:खिरहेका बेला क्रिकेटमार्फत भएपनि खुशी दिन पाउँदा गर्व लागेको छ’- सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका एकदिवसीयतर्फका कप्तान सन्दीप लामिछानेले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले नेपालीमा खुशी ल्याउन सकेकोमा गर्व लागेको बताएका छन् ।

एसीसी प्रिमियर कपको उपाधि जितेर आइतबार राति स्वदेश फर्किएका उनले टोलीको सफलताका पछाडि खेलाडी मात्र नभई समर्थक र पर्दापछाडिका सबैको योगदान रहेको बताएका हुन् । 

शनिवार संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्नुका साथै दोस्रो पटक एशिया कपमा स्थान पक्का गरेको थियो । यसअघि नेपाल सन् २०२३ मा पहिलोपटक एशिया कपमा छनोट भएको थियो । स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै कप्तान लामिछानेले पछिल्लो सफलतालाई नेपाली क्रिकेट सही दिशामा अघि बढिरहेको बताए। 

लामिछानेले भने, ‘देश दु:खिरहेको बेला क्रिकेटको माध्यमबाट भए पनि खुशी दिन सकिएको छ । त्योभन्दा पनि नेपाल दु:खिरहेको बेला सबैले एक–अर्कालाई साथ दिइरहनुभएको थियो, त्यो निकै प्रशंसनीय थियो ।’ ओमानविरुद्धको सेमिफाइनलमा नेपाल १४७ रनमै अलआउट भएपछि पनि टोलीले आत्मविश्वास नगुमाएको लामिछानेले बताए।

 उनले उक्त खेलमा आफ्नो आधारभूत क्षमतामा केन्द्रित हुँदै अन्तिम खेलजसरी खेल्ने रणनीति बनाएको बताए । नेपालले ओमानलाई केवल ६० रनमा अलआउट गर्दै सेमिफाइनलमा शानदार जित निकालेको थियो । लामिछानेकाअनुसार खेलाडीहरूले ‘आफ्नो देशका लागि वा जीवनकै अन्तिम खेल खेलेजसरी’ मैदानमा उत्रिने र प्रत्येक बलमा शतप्रतिशत प्रयास गर्ने योजना बनाएका थिए । बलिङपछि ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले टोलीलाई सम्हालेर अघि बढाएको प्रदर्शन पनि उनले प्रशंसनीय रहेको बताए ।