पत्रकार किशोर श्रेष्ठलाई धरपकड नगर्न उच्च अदालतको अन्तरिम आदेश
काठमाडौं । उच्च अदालत पाटनले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठमाथि धरपकड नगर्न अन्तरिम आदेश जारी गरेको छ।
उच्च अदालत पाटनका न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले बुधबार प्रहरीलाई उक्त आदेश दिएको हो । जनआस्था साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गर्न सक्ने आशंका दर्शाउँदै प्रेस काउन्सिलका पूर्वकार्यवाहक अध्यक्ष समेत रहेका पत्रकार श्रेष्ठले उच्च अदालतमा निषेधाज्ञाका लागि मंगलबार रिट दिनुभएकाे थियाे।
रिटमाथि निवेदकका कानून व्यवसायीको सुनुवाइ सकिएपछि अदालतले धरपकड नगर्न अन्तरिम आदेश दिएको हो । रिटमा वैयक्तिक स्वतन्त्रताको प्रश्न समेत उठाइएको थियो । अदालतले मुद्दाको अन्तिम टुंगोे नलागेसम्म श्रेष्ठलाई धरपकड नगर्न, पक्राउ नगर्न र थुनामा नराख्न अन्तरिम आदेश जारी गरेको छ ।
