‘दलको आन्तरिक मामिलामा अदालत प्रवेश गर्नु हुँदैन’ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलभित्रको आन्तरिक शक्ति संघर्षमा अदालत प्रवेश गर्न नहुने बताएका छन् । 

सोमवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उहाँले यस्तो बताएका हुन् । 

सभापति थापाले अदालतको क्षेत्राधिकार संविधान र कानूनको पालना भए/नभएको व्याख्या गर्नेमा मात्र सीमित हुनुपर्ने उल्लेख गर्दै दलका आन्तरिक विषयमा न्यायपालिकाले संयमता अपनाउनुपर्नेमा जोड दिए। 

दलका आन्तरिक कुराहरूमा प्रवेश गर्नु न्यायिक संयमताको विषय नभई यसले जनभावनाको कदर पनि नगर्ने बताए । 

राजनीतिक दलहरू सार्वजनिक संस्था भएको स्पष्ट पार्दै थापाले अदालतले आफ्नो संस्थागत छवि र जनभावनालाई विशेष ख्याल गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व, प्रचलित कानूनबमोजिम सम्पन्न निर्वाचन र त्यसबाट गठित प्रतिनिधि सभाले गरेका दर्जनौँ कानून निर्माणका कार्यलाई अदालतले वस्तुपरक रूपमा हेर्नुपर्ने तर्क गरे ।