स्थानीय तहका उम्मेदवार छान्न रास्वपाको ‘क्यान्डिडेट क्लब’, गाउँपालिकाका आकांक्षीलाई आवेदन खुला

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवारको मूल्यांकन र छनोट गर्न ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याएको छ।

च:मतिस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले क्लबको घोषणा गरेका हुन्। पहिलो चरणमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदमा उम्मेदवार बन्न चाहने आकांक्षीका लागि आवेदन खुला गरिएको छ।

आकांक्षीले पार्टीको मोबाइल एप ‘आरएसपी’मार्फत आवेदन दिन सक्ने लामिछानेले जानकारी दिए।

क्यान्डिडेट क्लबमा आबद्ध आकांक्षीको राजनीतिक योग्यता र क्षमतासँगै कानुनी, आर्थिक, सामाजिक तथा पारिवारिक अवस्थाको मूल्यांकन गरिने रास्वपाले जनाएको छ। उम्मेदवार छनोटअघि सम्भावित विवाद, कानुनी जटिलता र अन्य जोखिम पहिचान गर्ने उद्देश्यले उक्त प्रक्रिया अघि सारिएको हो।

‘उम्मेदवार बन्नका लागि आवश्यक पर्ने कतिपय अवस्थामा केही कानुनी झमेलामा पो छ कि ? केही आर्थिक वा सामाजिक किसिमका अप्ठ्याराहरू पो छन् कि ? पारिवारिक किसिमका झमेलाहरूमा पो छ कि ? भन्ने कुरा जान्न जरुरी रहेछ,’ लामिछानेले भने।

क्लबमार्फत विभिन्न मापदण्डका आधारमा आकांक्षीको परीक्षण गरी योग्य र सक्षम उम्मेदवार छनोट गर्न सहयोग पुग्ने उनको भनाइ छ।

पार्टीलाई आवश्यक नेतृत्व खोज्ने प्रक्रियामा योग्यतामा आधारित प्रणाली स्थापित गर्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’को अवधारणा अघि सारिएको लामिछानेले बताए।