‘सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्यो’ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले राजनीतिक दलभित्र सत्तामा पुग्नुलाई मात्रै सफलता मापन गर्ने आधार बनेको बताएका छन् । आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उनले राजनीतिक दलभित्र सफलता मापन गर्ने आधार नै गलत बनेको बताएका छन्।
उनले कति पटक सभापति, सांसद वा मेयर भयो भन्ने आधारमा राजनीतिक सफलता मापन गर्दा दलहरू असफल मान्छे उत्पादन गर्ने कारखाना जस्तो बन्ने टिप्पणी गरे। राजनीतिक दलभित्र पद र शक्तिलाई नै सफलताको मुख्य मापदण्ड बनाइएका कारण अधिकांश नेता असन्तुष्ट र निराश रहेको उनको भनाई छ । उनका अनुसार अहिले पदमा रहेका व्यक्ति पद गुम्ने चिन्तामा र पदबाट बाहिरिएका व्यक्ति पुनः पदमा पुग्न नसकिने चिन्तामा रहेका छन् ।
उनले काँग्रेस र एमाले दुवै दलमा यस्तो प्रवृत्ति देखिएको दाबी गरे । उनले पुरानासँगै नयाँ पुस्तामा पनि प्राप्तिलाई मात्र महत्व दिने प्रवृत्ति बढेको आरोप लगाए । यसले राजनीतिक संस्कारमा थप विचलन ल्याउने उनको भनाइ छ । उनले राजनीतिक दलको ‘आत्मा’ नेताको घरमा नभई पार्टीका लागि लामो समय संघर्ष गरेका परिवारहरूको कथामा खोजिनुपर्ने बताए । नेपाली काँग्रेसमा योगदान गरेका परिवारहरूको इतिहास खोजेर त्यसलाई पार्टीसँग पुनः जोड्न आफू इच्छुक रहेको उनको भनाई छ ।
