गगनलाई मोहनले भने : युवालाई जिम्मा लगाउने हो भने अब राजनीति छाड्नुस्
काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापाले आफूलाई युवा नेताका रूपमा प्रस्तुत गर्दै आए पनि अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बस्नेतले थापा ५२ वर्ष पुगिसकेको भन्दैआगामी निर्वाचनसम्म ५५ वर्ष पुग्ने भएकाले उनले सार्वजनिक रूपमा भनेअनुसार राजनीति छाडेर युवालाई नेतृत्व दिनुपर्ने बताए।
‘युवा–युवा भनेर पटक–पटक बोलिरहनुभएको छ। उहाँ ५२ वर्ष पार गरिसक्नुभएको छ। ५५ वर्ष पुगेपछि राजनीति छोड्छु भन्नुभएको छ,’ बस्नेतले भने, ‘नियमित प्रक्रियाअनुसार तीन वर्षमा निर्वाचन भयो भने आगामी चुनावमा उहाँ ५५ वर्ष पार गरिसक्नुहुन्छ। आफूले बोलेको कुरा पूरा गर्नुहुन्छ भने युवालाई मौका दिनुस्।’
बस्नेतले कांग्रेसलाई पुनः बलियो बनाउन पार्टीभित्र बृहत् एकता आवश्यक रहेको बताए। उनले कांग्रेस अहिले कमजोर अवस्थामा पुगेको दाबी गर्दै पार्टीलाई वडा तहदेखि संघीय संसद् र राष्ट्रिय सभासम्म बहुमतको अवस्थामा पुर्याउनुपर्ने बताए।
