निर्वाचन आयोगलाई कृष्ण सिटौलाको प्रश्न: गगनलाई सभापति भन्दा शेरबहादुर देउवालाई सोध्नुपर्दैनथ्यो ?
काठमाडौँ । राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुक अहिले विभिन्न कोणबाट उत्पन्न प्रश्न र त्रासबीच अघि बढिरहेको भन्दै समस्या समाधानका लागि कांग्रेस एकताबद्ध हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सिटौलाले देशमा आर्थिक समृद्धि र प्रगति हासिल गर्दै गरिब, निमुखालगायत सबै नेपाली नागरिकको जिम्मेवारी राज्यले लिनुपर्ने बताए। संविधानका आधारभूत सिद्धान्तलाई राज्यले पालना गर्नुपर्ने उनको भनाइ थियो।
“देशको आर्थिक समृद्धि होस्, प्रगति होस्, गरिब, निमुखालगायत नेपाली नागरिकको जिम्मेवारी राज्यले व्यहोरोस्। संविधानका आधारभूत सिद्धान्तलाई राज्यले पालना गरोस् भन्ने हो,” सिटौलाले भने।
उनले नेपालको राजनीतिक यात्रा संविधानका यिनै मूल विषयको सेरोफेरोमा अघि बढेको बताए। संविधान समय र परिस्थितिअनुसार संशोधन हुँदै जाने दस्तावेज भए पनि संविधानमा उल्लेखित समग्र विषयलाई समयअनुकूल ढंगले कार्यान्वयन र अघि बढाउन नसकिएको उनको टिप्पणी थियो।
