ग्यास सहज आपूर्तिको माग गर्दै चितवनमा विद्यार्थीको प्रदर्शन
चितवन । खाना पकाउने ग्यासको आपूर्ति सहज हुन नसकेको भन्दै अखिल (क्रान्तिकारी) चितवनले शनिबार भरतपुरको चौबीसकोठीमा खाली ग्यास सिलिण्डर गुडाउँदै विरोध प्रदर्शन गरेको छ। बजारमा ग्यासको अभाव बढ्दै गएपछि उपभोक्ताले सिलिण्डरका लागि लामो समयसम्म लाइन बस्नुपर्ने अवस्था आएको भन्दै विद्यार्थीले सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रदर्शनमा सहभागी विद्यार्थीले ‘जनतालाई चुल्हो बाल्न देऊ’, ‘भात पकाएर खान देऊ’ लगायतका नारा लगाएका थिए। उनीहरूले ग्यासको आपूर्ति तत्काल सहज बनाउनुपर्ने, उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउनुपर्ने र अभावको नाममा हुने कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्नुपर्ने माग गरेका छन्।
अखिल (क्रान्तिकारी) चितवनका अध्यक्ष सुशील कार्कीले ग्यासको एउटा सिलिण्डर लिनसमेत सर्वसाधारणले दिनौंसम्म लाइन बस्नुपर्ने बाध्यता रहेको बताए। जनताले भोगिरहेको यही समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन खाली सिलिण्डर सडकमा ल्याएर प्रदर्शन गरिएको उनले बताए।
उनका अनुसार चितवनसहित देशका विभिन्न स्थानमा ग्यासको आपूर्ति नियमित हुन सकेको छैन। ग्यास उद्योग तथा डिलरमा खाली सिलिण्डर बोकेर उपभोक्ताको लामो लाइन लाग्ने गरेको र कतिपय अवस्थामा एक सातासम्म पनि ग्यासको प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको उनले बताए।
“जनता एउटा सिलिण्डर लिनका लागि लाइनमा बस्नुपर्ने बाध्यतामा छन्। घरमा खाना पकाउने ग्याससमेत सहज रूपमा नपाउने अवस्था आउनु गम्भीर विषय हो,” कार्कीले भने, “सरकारले तत्काल आपूर्ति व्यवस्था सहज बनाउनुपर्छ।” विद्यार्थी संगठनले ग्यास अभावसँगै किसानले भोग्दै आएको मलको समस्यालाई पनि प्रदर्शनको विषय बनाएको छ। खेती गर्ने समयमा किसानले आवश्यक मल नपाउने अवस्था अन्त्य गरी समयमै मल उपलब्ध गराउनुपर्ने माग उनीहरूले गरेका छन्।
