सबै कुरामा कर थोपरेर नागरिक सर्वोच्चताको कुरा गर्छौँ : रेशम चौधरी

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले निर्वाचनअघि गरेका प्रतिवद्धता पूरा गर्न नसकेको आरोप लगाउनुभएको छ ।

शनिवार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले निर्वाचनअघि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका युवालाई स्वदेश फर्काउने, सुशासन कायम गर्ने र देशलाई नयाँ ढंगले सञ्चालन गर्ने दाबी गरेपनि व्यवहारमा त्यसको उल्टो अवस्था देखिएको बताउनुभयो ।

उहाँले सरकारले नागरिकमाथि करको भार थोपरेको पनि आरोप लगाउनु भयो । सरकारको सबै कुरामा कर थोपरेर नागरिक सर्वोच्चताको कुरा गर्ने गरेको उहाँको भनाई छ । चौधरीले कर तिर्ने नागरिकमाथि करको भार थोपर्नुभन्दा करको दायित्व पूरा नगर्ने पक्षलाई करको दायरामा ल्याउन सुझाव दिनुभयो । सरकारप्रति कोही सन्तुष्ट बन्न नसकेको उहाँको भनाई छ । गाउँका किसान धान न्युन मूल्यमा विक्री गर्न बाध्य भएको उहाँले दाबी गर्नुभयो ।

उहाँकाअनुसार चैते धान किसानले प्रतिक्विन्टल २ हजार ५ सय रुपैयाँमा विक्री गरेपनि विचौलियाले त्यही धान महँगो मूल्यमा उपभोक्तालाई बिक्री गरिरहेको छ । उहाँले आफूहरू सरकारको विरोधका लागि मात्रै मोर्चाबन्दीमा नलागेको बताउनु भयो । देश निर्माणमा सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको उहाँको भनाई छ ।