‘हेलो सरकार’ अब एकीकृत नागरिक गुनासो व्यवस्थापन प्रणाली बन्दै, ११११ बाटै सम्बन्धित निकायमा पुग्ने व्यवस्था

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासोको सुनुवाइलाई थप छिटो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’लाई स्तरोन्नति गरी ‘नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणाली’ का रूपमा विकास गर्ने तयारी अघि बढाएको छ। यसका लागि विस्तृत अवधारणापत्र, कार्ययोजना र दिग्दर्शनको मस्यौदा तयार गरी छलफलका लागि पेस गरिएको छ।

हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाका अनुसार प्रस्तावित प्रणालीमा फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, इमेललगायत विभिन्न माध्यमबाट प्राप्त हुने गुनासोलाई एउटै डिजिटल प्लेटफर्ममा व्यवस्थापन गरिनेछ। सेवाग्राहीले सम्बन्धित कार्यालयमै गुनासो दर्ता गर्न सक्नेछन् भने आवश्यक परे हेलो सरकारको स्वचालित प्रणालीमार्फत सम्बन्धित निकायमा पठाउने व्यवस्था हुनेछ। गुनासोको प्रगति अनुगमन र सेवाग्राहीलाई जानकारी दिने प्रक्रिया पनि एउटै प्रणालीबाट सञ्चालन गरिने प्रस्ताव गरिएको छ।

११११ बाटै सम्बन्धित निकायमा पुग्ने व्यवस्था
कार्यालयले सरकारी कल सेन्टरहरूलाई समेत अन्तरआबद्ध गर्ने अवधारणा अघि सारेको छ। यसअनुसार टोल–फ्री नम्बर ११११ मा प्राप्त गुनासो विषयअनुसार सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाइनेछ। यदि सम्बन्धित निकायबाट सेवा उपलब्ध हुन नसकेमा गुनासो पुनः हेलो सरकारमै फर्किने व्यवस्था गरिने प्रस्ताव छ।

यसबाट एउटै विषयमा नागरिकले पटक–पटक विभिन्न कार्यालय धाउनुपर्ने अवस्था अन्त्य हुने विश्वास गरिएको छ। साथै, सेवाग्राहीले यसअघि दर्ता गरेका गुनासो, त्यसको अवस्था र समाधानको विवरण पनि प्रणालीमै हेर्न सक्ने व्यवस्था हुनेछ। एउटै व्यक्तिले एउटै विषयमा पटक–पटक गुनासो दर्ता गरेमा त्यसलाई एउटै गुनासोका रूपमा व्यवस्थापन गरिने प्रस्ताव गरिएको छ।