तरकारी बोकेको ट्रक त्रिभुवन राजमार्गबाट सय मिटर तल खस्दा एकको मृत्यु, चालक घाइते
काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका– २, तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको डिब्बा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। चालक घाइते भएका छन् । मंगलबार राति करिब २:३० बजे पालुङबाट वीरगन्जतर्फ तरकारी बोकेर जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित भई करिब एक सय मिटर तल चण्डी खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनाबारे बिहान करिब ६:३० बजे सूचना प्राप्त भएपछि प्रहरी चौकी भैँसे र इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको नेतृत्वमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो। दुर्घटनामा ट्रकचालक मकवानपुरको राक्सिराङ गाउँपालिका– ९ निवासी २३ वर्षीय रञ्जित कार्की घाइते भएका छन्। उनको दायाँ खुट्टा भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको छ।
यस्तै, ट्रकमा सवार चालकका काका पर्ने राक्सिराङ– ९ कै अन्दाजी ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते भएका थिए। टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । अस्पतालमा बिहान करिब सवा नौ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
ट्रकमा चालक र अर्जुन कार्की मात्रै सवार रहेको प्रहरीकाे भनाइ छ। दुर्घटनाको कारण वर्षासँगै परेको बाक्लो हुस्सु र चिप्लो सडक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
