पूर्वप्रधानमन्त्री हसिनाले नयाँ दिल्लीबाट सम्बोधन गर्न लागेकाे बारेमा भारतसँग बंगलादेशकाे धारणा स्पष्ट माग
एजेन्सी । बंगलादेशले निर्वासनमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले नयाँ दिल्लीबाट गर्न लागेको भर्चुअल सम्बोधनकाे बारेमा भारतसँग आफ्नो धारणा स्पष्ट पार्न आग्रह गरेको छ ।
बंगलादेशले भागेका व्यक्तिलाई राजनीतिक गतिविधि गर्न दिँदा सुधारोन्मुख द्विपक्षीय सम्बन्धमा असर पर्न सक्ने चेतावनी पनि दिएको समाचार संस्था रोयटर्सले जनाएको हाे। नयाँ दिल्लीमा ‘फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एशिया’ (एफसीसीएसए) ले आयोजना गर्ने यहि अगस्ट ५ तारिखको कार्यक्रममा हसिनाको प्रस्तावित सहभागिताप्रति बङ्गलादेशको यो पहिलो आधिकारिक प्रतिक्रिया हो ।
एफसीसीएसएले ७८ वर्षीया हसिनाले आफ्ना छोरा सजिब वाजेद जोय र अन्य वक्ताहरूसँगै भिडियो लिङ्कमार्फत नयाँ दिल्लीको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे जनाएकाे छ। सन् २०२४ अगस्टमा विद्यार्थी–नेतृत्वको आन्दोलनका कारण बङ्गलादेशबाट भागेपछि भारतमा बस्दै आएकी हसिनालाई भारतबाट सुपुर्दगी गराउन बंगलादेशले प्रयास गरिरहेकाे समय यो विषय चर्चामा आएको हो । आफूविरुद्ध विभिन्न मुद्दाहरू दर्ता भए पनि हसिनाले आउँदो डिसेम्बरमा बंगलादेश फर्कने योजना रहेको बताउनुभएको छ ।
बंगलादेशकी विदेश मामिला राज्यमन्त्री शामा ओबेद इस्लामले भारतसँग भविष्यमुखी दृष्टिकोणका साथ अघि बढिरहेकोले हसिनाको सम्बोधनकाे बारेमा भारतको धारणा स्पष्ट हुनुपर्ने बताउनुभएको रोयटर्सले जनाएकाे हाे ।
