रास्वपाले बाँकी जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्न जारी गर्यो परिपत्र
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशन चक्रअन्तर्गत सम्पन्न हुन बाँकी रहेका जिल्ला तथा प्रदेश अधिवेशन तोकिएको प्रक्रिया र मापदण्डअनुसार सम्पन्न गर्न सम्बन्धित निकायलाई परिपत्र जारी गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी परिपत्रमा हालसम्म सम्पन्न हुन बाँकी रहेका जिल्ला तथा प्रदेश अधिवेशनलाई पहिलो महाधिवेशन चक्रकै निरन्तर प्रक्रिया मानिएको उल्लेख छ। त्यसअनुसार ती अधिवेशनमा पार्टीको विधान, निर्वाचन कार्यविधि तथा केन्द्रीय निर्वाचन आयोगले यसअघि जारी गरेका निर्णय, निर्देशन र व्याख्या यथावत् लागू हुने जनाइएको छ। आयोगले निर्वाचन प्रक्रियामा सबै स्थानमा समान अभ्यास, वैधानिकता र निष्पक्षता सुनिश्चित गर्ने उद्देश्यले उक्त निर्देशन जारी गरिएको स्पष्ट पारेको छ।
परिपत्रमा पहिलो महाधिवेशन चक्रका क्रममा कुनै सदस्यले अर्को तहको प्रतिनिधि वा कुनै पदका लागि उम्मेदवारी दर्ता गरेपछि उसले यसअघि कायम रहेको प्रतिनिधिको हैसियत स्वतः समाप्त हुने व्यवस्था दोहोर्याइएको छ। यसका लागि अलग्गै राजीनामा दिनु वा स्वीकृति लिनु नपर्ने उल्लेख गरिएको छ।
त्यस्तै, एउटै महाधिवेशन चक्रमा एक सदस्यले एक तहमा मात्रै प्रतिनिधित्व गर्न पाउने व्यवस्था पनि पुनः स्पष्ट गरिएको छ। एकभन्दा बढी तहमा एकै व्यक्तिको प्रतिनिधित्व कायम नरहने आयोगले जनाएको छ।

