सुनसरी घटनाको न्यायिक छानबिन गर्न काँग्रेसको माग, संसदमा दबाब दिने निर्णय
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सुनसरी लगायत पूर्वी तराईका जिल्लाहरूमा भएका घटनाहरूको निष्पक्ष र स्वतन्त्र न्यायिक छानबिन गर्न माग गरेको छ ।
सोमवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको काँग्रेस संसदीय दलको बैठकले गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई ‘कर्मकाण्डी’ संज्ञा दिँदै उच्चस्तरीय न्यायिक समिति गठन गर्नुपर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टीका महामन्त्री प्रदीप पौडेलले सुनसरीमा दुई समुदायबीच भएको झडप र सुनसरी तथा सिरहामा गरी तीन जनाको मृत्यु भएको घटनालाई पार्टीले गम्भीरताका साथ लिएको बताए ।
काँग्रेसले यस विषयलाई प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनमा सशक्त रूपमा उठाउने र न्यायिक समिति निर्माणका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ । यस प्रक्रियामा अन्य विपक्षी दलहरूसँग पनि सहकार्य र समन्वय गरिने महामन्त्री पौडेलले बताए ।
नागरिकका मुद्दा र आवाजलाई संसदसम्म प्रभावकारी रूपमा पुर्याउन नेपाली काँग्रेसले आफ्ना सांसदहरूलाई जिल्लागत जिम्मेवारी तोक्ने निर्णय गरेको छ । काँग्रेसको तर्फबाट प्रतिनिधित्व नभएका जिल्लाहरूमा समेत राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई खटाई नागरिकसँग प्रत्यक्ष संवाद र समन्वय गर्ने संयन्त्र तयार पारिएको छ ।
