टुटेश्वरनाथ महादेव मन्दिरमा गृहमन्त्री गुरुङको विशेष पूजा
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले महोत्तरीको बर्दिबास नगरपालिका-५ स्थित टुटेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजा-अर्चना गरेका छन्। आइतबार मन्दिर पुगेका उनले मुलुकमा शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम रहोस् भन्ने कामनासहित पूजा सम्पन्न गरेका हुन्।
‘नेपालको बाबाधाम’ तथा ‘मधेशको कैलास’का रूपमा परिचित टुटेश्वरधाम पुगेका गृहमन्त्रीले मन्दिरमा दर्शनसमेत गरेका थिए। पूजापछि गृहमन्त्री गुरुङले साउन महिनाभर सञ्चालन भइरहेको धार्मिक मेलाको सुरक्षा प्रबन्ध, भीड व्यवस्थापन तथा श्रद्धालुलाई उपलब्ध गराइएका सेवा-सुविधाबारे जानकारी लिएका थिए। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजाराम यादवका अनुसार मन्दिरका पुजारी श्रीचन दासले गृहमन्त्रीबाट विशेष पूजा सम्पन्न गराएका थिए।
भ्रमणका क्रममा मन्दिरको धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्वबारे गृहमन्त्रीलाई जानकारी गराइएको अध्यक्ष यादवले बताए। उनका अनुसार टुटेश्वरनाथ महादेव मन्दिरको संरक्षण, प्रवर्द्धन र दीर्घकालीन विकासका लागि पुरातात्त्विक अध्ययन आवश्यक रहेको विषयमा पनि गृहमन्त्रीको ध्यानाकर्षण गराइएको थियो।
