‘राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छ’ : सभापति थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर जनसेवाको मुख्य माध्यम बनाउनुपर्ने बताएका छन् ।  शनिवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिमा बढ्दै गएको पद र शक्तिको आशक्तिप्रति चिन्ता व्यक्त गरेका हुन् । 

 नेपाली काँग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै सभापति थापाले राजनीतिलाई सबैभन्दा ठूलो सार्वजनिक र मानव सेवाको क्षेत्रका रूपमा परिभाषित गरे। 

नागरिक सेवा र मानव सेवाका लागि शक्ति र सत्तालाई साधन बनाउनुपर्नेमा केवल सत्ता प्राप्तिकै लागि मात्र राजनीति गर्ने अवस्थामा पुग्नु दुःखको विषय भएको उनको भनाइ छ । यो राजनीतिको उद्देश्यभन्दा फरक र विचलित बाटो भएको बताए । 

 पार्टीको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै उहाँले संस्थापक नेताहरूले सत्ता वा शक्तिको अभिलाषा राखेर नभई विशुद्ध नागरिक सेवाको भावनाले पार्टी स्थापना गरेको उल्लेख गरे । बदलिँदो परिवेशमा पार्टीका सामु नयाँ विषय र चुनौतीहरू थपिएको बताउँदै उनले सांगठनिक सुदृढीकरण र नीतिगत स्पष्टतालाई सँगसँगै लैजानुपर्ने आवश्यकता औँल्याए ।