‘सामाजिक सद्भाव कायम गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय’ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीसहित मधेशका केही जिल्लामा देखिएको पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्दै सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न सरकार निरन्तर तथा योजनाबद्ध रूपमा अघि बढिरहेको बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले नागरिकको सुरक्षा, आपसी विश्वासको वातावरण निर्माण र प्रभावित क्षेत्रको अवस्थालाई सामान्य बनाउने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे ।

उनले राज्यका सुरक्षा तथा प्रशासनिक संयन्त्रहरू आवश्यक समन्वय र सतर्कतासहित परिचालन भइसकेको जानकारी दिँदै नागरिकलाई संयमित रहन आग्रह गरे । घटनाबाट प्रभावित नागरिकसम्म पुग्ने, उनीहरूको सुरक्षाको प्रत्याभूति गर्ने र उत्पन्न परिस्थितिको निष्पक्ष अध्ययन गरी आवश्यक कदम चाल्ने कार्यमा सरकार केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाइ थियो ।

शान्ति सुरक्षाको अवस्था थप जटिल बन्न नदिन सरकारले विभिन्न तहका निकायबीच समन्वय गर्दै बहुआयामिक पहल अघि बढाइरहेको प्रधानमन्त्री शाहले बताए ।

छलफलका क्रममा उनले जनप्रतिनिधिहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्न आग्रह गर्नुभयो । संकटको समयमा जनताको समस्या बुझ्दै राज्य र नागरिकबीच विश्वासको सम्बन्ध बलियो बनाउने भूमिका निर्वाह गर्न सांसदहरूलाई प्रधानमन्त्री शाहले अनुरोध गरे ।